काठमाडौँ : गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा १४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्।
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपदमा काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो।
अहिलेसम्म काठमाडौँ उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३५ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३१ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ४४ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १६१ जना घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ७१ जनाको उद्धार गरिएको छ।
बाढीपहिरोमा कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा एकजना गरी ४७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी छ।
बाढीले १८४ घर डुबानमा परेका छन्। बाढीले २४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
६०८ वटा पशु चौपायाको मृत्यु भएको छ। यस अवधिमा विपदका घटनाबाट ४ हजार ४२ घरपरिवार विस्थापित भएको कार्कीले जानकारी दिए।
इच्छाखबर संवाददाता












