गोरखा १२ साउन : गोरखामा आत्महत्या गरेको भनी गाडिएको एक महिलाको शव प्रहरीले सात दिनपछि निकालिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक रमेश कुमार श्रेष्ठका अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नं.४ भण्डारी गाउँ बस्ने बर्ष ४६ को मारज गुरुङको श्रीमती बर्ष ४५ की रन माया गुरुङको शव गाडिएको स्थानबाट निकालिएको हो ।
गत साउन ४ गते राति १० बजेको समयमा घर भित्र झुण्डिएर मृत्यु भएको श्रीमान् मारज गुरुङले बताएपछि स्थानीयहरुले उक्त घटना आत्महत्या नै भएको भनी भोलीपल्ट ५ गते जातीय परम्परा अनुसार मृतकको शव जमिनमा गाडी सदगत गरेका थिए । उक्त घटना संकास्पद रहेको हुँदा छानबिन गरी पाउँ भनी मृतकको दाजु सुकपाल गुरुङले प्रहरी चौकी सौरपानीमा निवेदन दिएपछि ११ गते गोरखा अस्पताल गोरखाबाट बिशेषज्ञ चिकित्सकसहितको प्रहरी टोलीले रन माया गुरुङले झुण्डिएर आत्महत्या गरेको भनिएको स्थान र उनलार्ई जातीय परम्परा अनुसार गाडिएको स्थानमा गई प्रारम्भिक अनुसन्धान गरी शव निकाली मुचुल्का लगायतको कार्य गरी पोष्टमार्टमको लागि फरेन्सिक मेडिसिन विभाग महाराजगंज काठमाडौँमा पठाईएको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो । ्
उक्त घटनामा थप अनुसन्धान कार्य भई रहेको उहाँले जानकारी दिनुभयो ।
इच्छाखबर संवाददाता












