चितवन :  बागमती प्रदेशको नवनियुक्त वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा बामगती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शपथ ग्रहण गराउनुभएसँगै नवनियुक्त वनमन्त्री सिलवालले वन तथा वातावरण मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण लगत्तै मन्त्री सिलवालले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्नुहुदै संघियताको मर्म बमोजिम प्रदेशको आवश्यकता पुष्टि गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनतामा पछिल्लो समय ठुला राजनैतिक दलप्रति विश्वास कम हुदै गएकोले जनतामा छाएको वितृष्णालाई सकारात्मक बनाउनका लागि आफ्नो मन्त्रालय मार्फत आफु लागि पर्ने पनि बताउनुभयो ।

यस्तै मन्त्री सिलवालले पदभार ग्रहण गर्नुभएको पहिलो दिन पहिलो निर्णयको रुपमा काठ दाउरा बिक्रीको लागि इबिडिङ (विद्युतीय बोलपात्र) लागु गर्ने निर्णय गर्नुभएको छ । अहिलेसम्म वनजंगलबाट आउने काठ दाउरा बिक्रीको लागि लिखित विधिबाट बोलपत्र गर्ने प्रचलनमा रहेकोमा अब उप्रान्त विद्युतीय बोलपत्र (इबिडिङ) लागु गर्ने गर्नको लागि नितिगत निर्णय गरिएको उहाँले बताउनुभयो ।

‘यसरी बोलपत्र गर्दा पारदर्शी हुनुका साथै राज्य कोषमा आम्दानी पनि वृद्वि हुने भएकोले मैले पहिलो निर्णय नै इबिडिङ (विद्युतीय बोलपात्र) लागु गर्ने निर्णय गरेको हु’ –उहाँले भन्नुभयो ।