
चितवन : सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भएरनभएको पुष्टि भइसकेको छैन ।नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत चितवनका भरतपुर २९ स्थित सिमलताल दुर्घटनामा परेका दुई वटा बसमा गरी कम्तिमा ६५ यात्रु सवार थिए । तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका हुन् भने बाँकी यात्रु बससँगै त्रिशूलीमा बेपत्ता भएका छन् ।