सिउरेनिटार ,२७ असार । गोरखाको गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को वार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँ कार्यपालिका र मातहतका कार्यालयहरूको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा जनताको गुनासो सुन्ने उदेश्यले वडा नम्बर ८ सिउरेनिटार स्थित खानेपानी भवनमा सार्वजनिक सुनुवाई गरिएको हो।
कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधि र कर्मचारीहरुसामु पालिकाले वितरण गर्ने अनुदान वितरणको मापदण्ड प्रक्रिया, प्राकृतिक स्रोत साधनको जथाभावी दोहन हुदाँ पनि गाउँपालिकाले आवश्यक कारवाही नगरेको, पालिका तथा वडाले दिने सेवा सुविधाबारे जानकारी नभएको, शिक्षा, स्वास्थ्य तथा कृषि जस्ता बिषयमा गुनासो तथा सुझावहरु राखेका थिए।

कार्यक्रममा सहभागीहरुले राखेको प्रश्न तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’, प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी, वडाध्यक्षहरु र विभिन्न शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले सबै जनताको गुनासो सुन्न, समस्याको सामाधान गर्नका लागि र सेवाग्राहीबाट पृष्ठपोषण लिन यस पटक वडा नम्बर ८ मा वार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई गरिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’को सभापतित्वमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण भने सामुदायिक रेडियो इच्छाकामना एफएम १०२.४ मेगाहर्ज कुरिनटारले गरेका थिए।

इच्छाखबर संवाददाता












