
चितवन : नेपालमा दर्ता नभएका औषधि बिक्री गरेको आरोपमा दुई जनालाई भ्यान सहित पक्राउ गरिएको छ । भरतपुरको अस्पताल रोडबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाही पर्सा गा.पा.वडा नं.५ बस्ने बर्ष २९ का अनिल झा र जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.७ बस्ने बर्ष ३८ का दिपेन परियार रहेका छन् । बागमती प्रदेश ०१–०२६ च–२१८२ नम्बरको भ्यान सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा चितवन र मेडिकल स्टकिस्ट क्लब अफ नारायणगढका पदाधिकारीहरुले बजार अनुगमनका क्रममा उक्त भ्यानमा शंकास्पद प्रतिबन्धित औषधि देखेपछि प्रहरीलाई खबर गरेका थिए । व्यवसायीको सूचनापछि चितवन प्रहरीले भ्यान सहित दुई जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको हो ।
उनीहरुले बजारका थोक तथा खुद्रा औषधि पसलमा नेपालमा दर्ता नभएका औषधि बिक्री गर्दै आएको बताईएको छ । उनीहरुले कहाँबाट र कसरी यी औषधि ल्याए भन्ने विषय एकिन हुन सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग वीरगञ्जलाई लेखि पठाएको छ ।
औषधि व्यवस्था विभाग वीरगञ्जका प्रमुख किरण बज्राचार्यका अनुसार थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट ६ दिन म्याद थप गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।