
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले किसानहरुलाई अनुदानमा सुन्तलाको बिरुवा वितरण गरेका छन् । सुखी खुशी समृद्ध इच्छाकामना, कृषि पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना भन्ने मूल नाराका साथ फलफूल सुन्तला विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गाउँपालिकाले किसानहरुलाई सुन्तलाको कलमी र बिजु बिरुवा वितरण गरेका हुन् ।
इच्छाकामना गाउँपालिकालाई सुन्तला प्रवद्र्धन गर्नको लागि पहिले ५० प्रतिशत अनुदानमा किसानहरुसँगै सम्झौता गरेर सामाग्रीहरु वितरण गरिएको थियो। त्यसपछि ५० प्रतिशत किसानकै साझेदारीमा सुन्तलाका विरुवा वितरण गरिएको हो । आठ हजार कलमी १२ हजार विजु गरि २० हजार सुन्तलाको बिरुवा वितरण गरिएको कृषि शाखामा कार्यरत कृषि प्राविधिक उमेशकुमार चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार कलमीको ७५ रुपैयाँ किसान र ७५ रुपैयाँ गाउँपालिकाको रहेको छ । विजुको १२ रुपैयाँ ५० पैसा किसान र १२.५० रुपैयाँ साझेदारीमा सुन्तला विरुवा वितरण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले इच्छाकामना गाउँपालिकाको आयोजनामा सुन्तला विरुवा वितरण भईरहेको बताउनुभयो । किसानहरुको ५० प्रतिशत र इच्छाकामना गाउँपालिकाको ५० प्रतिशत लागतमा सुन्तला बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो । सुन्तला विरुवा पाएसगैँ किसानहरु खुशी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार किसानहरुको मागको आधारमा सुन्तलाका विरुवा वितरण गरिएको हो । वडा न. ३ मा सुन्तला महोत्सव मनाएको र सोही ठाउँलाई सुन्तला प्रवद्र्धनका लागि विशेष प्राथमिकता दिइएको उहाँको भनाई छ । आउने बर्षहरुमा पनि किसानीहरुलाई लक्षित गरेर कार्यक्रम ल्याउँने उहाँले बताउँनुभयो ।
तोक्दाङ ढाप कृषक समुहको अध्यक्ष चन्द्र बहादुर गुरुङले अनुदानमा सुन्तलाको बिरुवा माग गर्नुभएको थियो । ७५ कलमी ३८० विजु विरुवा गरि ४५५वटा सुन्तलाको विरुवा समूहमा पाएको उहाँले बताउनुभयो ।
यसैबिच अर्का किसान गिर बहादुर गुरुङ र होम बहादुर गुरुङले पनि आफूहरुले फर्म भरे अनुसार नै विरुवा पाउँदा खुशी व्यक्त गर्नुभयो ।
गाउँपालिकाले सुन्तला खेती प्रवद्र्धनका लागि सुन्तला विरुवा सहित आवश्यक औजारहरु समेत अनुदानमा उपलब्ध गराउँदै आएको छ।