कुरिनटार:  चितवनको इच्छाकामनाका किसानहरुलाई मौरी सहितको घार र  चिउरीको विरुवा वितरण गरेका  छन् । ५० प्रतिशत अनुदानमा सोमबार  एक कार्यक्रमकाबिच  किसानहरुलाई  मौरीसहितको घार, मौरी पालनका लागि आवश्यक सामाग्री र चिउरीको विरुवा  वितरण गरिएको हो ।

गाउँपालिकाले १३२ वटा घारसहितको मौरी, मौरीपालनका लागि आवश्यक सामाग्री, टोपी,जाली, आधार चाका र चिउरीको विरुवा वितरण गरिएको  कृषि शाखा अधिकृत समीक्षा पौडेलले जानकारी दिनुभयो ।  मौरी र घार  वितरणसँगै  किसानहरुलाई मौरी पालनका लागि अवश्यक पर्ने  विधिबारे  जानकारी समेत  दिएकोे  अधिकृत पौडेलले बताउनुभयो ।

किसानहरुको आयआर्जनका लागि मौरी सहितको घार वितरण गरिएको  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । साथै उहाँले  मौरी स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले  आफैले मह उत्पादन गर्न सके किनेर खान नपर्ने बताउनुभयो ।उहाँले किसानहरुका लागि मौरी पालन  थप आयआर्जनको श्रोत बन्ने भएकाले सबै किसानहरुलाई मौरी पालन गर्न आग्रह पनि गर्नुभयो । व्यवसायिक रुपमै  मह धेरै उत्पादन भएमा गाउँपालिकाले  बजार व्यवस्थापनमा समेत  सहयोग गर्ने  उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,“ विभिन्न प्रकारका खेती  गरिरहेका किसानहरुले पनि  मौरी पनि पालन गर्न सकिन्छ, यसबाट थप आयआर्जनमा टेवा पुग्नेछ,  उत्पादन भएका महको बजार व्यवस्थापनमा हामी सहजीकरण गर्ने छौँ । ”
मौरी पालक किसान विष्णु प्रसाद सापकोटाले मौरी स्वास्थ्यका लागि फाइदाजनक हुने   र यसले विभिन्न बोटविरुवा बालीहरुका लागि परागसेचनका साथै विभिन्न प्रत्यक्ष र अप्रत्यक्ष   सहयोग पु¥याउने बताउनुभयो । किसानहरुले राम्रोसँग पाल्न सक्यो भने राम्रो आम्दानीको श्रोत बन्ने  बताउँदै  गाउँपालिकाको यस कार्यको प्रशंसा गर्नुभयो ।