माझ गाउँ :  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को माझ गाउँ माविका विद्यार्थीहरुलाई बेकारबाट आविस्कार तालिम प्रदान गरेको छ । वडा नम्बर ३ को आर्थिक सहयोग, सरसफाई अभियान्ता श्रीरेन्द्र प्रकाश पोखरेलको प्राविधिक सहयोग तथा माझगाउँ माविको आयोजनामा स्थानीय पाठ्यक्रममा आधारित फोहोर व्यवस्थापन सम्बन्धि “बेकारबाट आविस्कार” भन्ने आदर्श वाक्यसहित ३ दिने तालिम सम्पन्न भएको हो ।
सरसफाई र फोहोर व्यवस्थापन एक निरन्तर प्रक्रिया रहेकोले जसले फोहोर गर्छ उसैले व्यवस्थापन गर्ने हो भने सुन्दर सफा गाउँ शहर निर्माण हुने प्रमुख अतिथि वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपालले बताउनुभयो । “सरसफाई र फोहोर व्यवस्थापन एक निरन्तर प्रक्रिया हो जस्ले फोहोर गर्छ उसैले व्यवस्थापन गर्ने हो भने सुन्दर र सफा गाउँ शहरको निर्माण हुनेछ, फोहोर फाल्ने होइन ,बेवास्ता गर्ने होइन यसको व्यवस्थापन गर्ने हो भने कुनै पनि ठाउँ फोहोर बिहिन हुनेछ , वडाध्यक्ष नेपालले भन्नुभयो, वायु जल जमिन हरेक प्रदुषणलाई रोक्न कम गर्न बेकारबाट आविस्कार गर्न जरुरत छ , जस्ले जीवन शैलीमा आर्थिक हिसाबले परिवर्तन गर्न सम्भव छ । ”
कार्यक्रममा प्रशिक्षक तथा सरसफाई अभियन्ता श्री श्रीरेन्द्र प्रकाश पोखरेलले यस तालिमबाट सिकेको सीपलाई भविष्यमा पेशागतरुपमा पनि अघि बढाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो,“ अझै यस्तो तालिम विद्यालयका सबै विद्यार्थीलाई पनि दिन पाए सबैले व्यवहारिक सीप हासिल गरि भविष्यमा यसलाई पेशागत रुपमा अगाडि बढाउन सकिन्छ ।”
कृषि पेशामा पनि यो बेकारबाट आविस्कार हुने सामग्री अतिनै उपयोगी हुने शिक्षक मदन कुमार चेपाङले बताउनुभयो । बाटोमा भेटेको अरु विद्यार्थीले उनीहरू पनि तालिम लिन आतुर रहेको र सहभागी हुन नपाउदा दुखी भएको कुरा व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कमल गुरुङले स्थानीय पाठ्यक्रम विषयमा हुने पचास प्रतिशत अङकको मुल्यांकन पनि विद्यार्थीले गरेको रचनात्मक क्रियाकलाप जस्तै बोतलमा प्लास्टिक कोचेर भरेको प्लास्टिकका बोतल बाट बन्ने कुनै सामान बनाएका आधारमा विषय शिक्षकले नम्बर दिने प्रावधान मिलाइने बताउनुभयो ।
असोज २२ बाट २४ गतेसम्म सञ्चालन भएको उक्त तालिम विद्यालय व्यवस्थापन समिति सदस्य खुसकासी गुरुङको सभापतित्वमा तथा वडा नम्बर ३ को वडा अध्यक्ष नर बहादुर नेपालको प्रमुख आतिथ्यतामा उद्घाटन भई आज २४ गते तालिमबाट निर्मित बेकारबाट बनेका आविस्कारका सामानहरुको प्रदर्शन गर्दै समापन भएको हो ।
राष्ट्रिय अधारभुत विद्यालय फिस्लिङबाट सुरु भएको यो बेकारबाट आविस्कार स्थानीय पाठ्यक्रममा आधारित विद्यार्थी लक्षित तालिम गाउँपालिका भित्रको सात वटै वडा भित्रका सामुदायिक विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको सरसफाई अभियन्ता श्रीरेन्द्र प्रकाश पोखरेलले ईच्छाखबर लाई जानकारी दिनुभयो ।