चितवन :  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरका उत्कृष्ट मन्त्रीको रूपमा सम्मानित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो ।

जोशीलाई मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवं सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका हुन् । मन्त्री जोशी गत जेठ ७ गते बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए ।

मन्त्री जोशीले आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालहरुमा विपन्नलाई निःशुल्क उपचारको निर्णय गरेका छन् । यस्तै, क्यान्सर तथा हृदयघातका बिरामीहरुलाई उपचारमा छूट दिने निर्णयसमेत गरेका थिए । प्रदेशभित्रका सहिद परिवार, जनयुद्ध–जनआन्दोलनका घाइते, विपद्मा परेका तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरुलाई पनि निःशुल्क उपचार सेवाको निर्णय गरेका छन् ।

यस्तै, उनले प्रादेशिक अस्पतालहरुलाई ६५ वर्षमाथिका तथा विपन्नलाई निःशुल्क दन्त उपचार सेवा र प्यारालाइसिस भएकाहरुलाई प्रादेशिक आयुर्वेदिक अस्पतालमा निःशुल्क थेरापीको व्यवस्था पनि गरेका छन् ।

मन्त्री नियुक्त भएपछि नै जोशीले प्रदेशअन्तर्गतका १३ वटै जिल्लाका आश्रममा आश्रित, अपाङ्गता, सीमान्तकृत तथा लोपोन्मुख जातिहरुको निःशुल्क बिमा, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५० प्रतिशत अग्रिम भुक्तानी गरी बिमाको व्यवस्थासमेत गरेका थिए । जोशीका यिनै कार्यहरुलाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले सम्मानित गरेका हुन् ।