चुम्लिटार  :  चितवनको इच्छाकामना गाउँपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बारे आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।जनप्रतिनिधि तथा सरोकारवालहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा इच्छाकामना ३ चुम्लिङ्गटारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी पत्रकार लगायत सरोकारवालहरुको उपस्थिति रहेका थिए ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सकभर स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीमा जान परे ज्ञान सीप लिएर जान आग्रह गर्नुभयो ।


गाउँपालिकाले मागमा आधारित विभिन्न सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । विदेशबाट फर्केकाहरुलाई अनुदान र सीप प्रदान गर्दै आएको पनि उहाँले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार बैदेशिक रोजगारीका लागि गाउँपालिकाबाटै श्रमस्वीकृत दिने व्यवस्था रहेको छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल, सुरक्षित आप्रवासन परियोजना (सामी) बागमतीका कार्यक्रम अधिकृत उमा पौडेल, हेल्पटास नेपालका प्रशासन शाखा प्रमुख भक्त राई , सुरक्षित आप्रवासन परियोजना (सामी) चितवनका संयोजक सुर्यप्रसाद पौडेलले कार्यक्रमबारे प्रकाश पार्नुका साथै इच्छाकामनामा सहित जिल्लामा कार्यक्रमले पारेको सकरात्मक प्रभावबारे जानकारी गराउनुभएको थियो ।
चितवनको इच्छाकामना सहित भरतपुर महानगरपालिका, माडी नगरपालिका र रत्ननगर नगरपालिकामा यस परियोजना सञ्चालनमा रहेको संयोजक पौडेलले बताउनुभयो ।


संयोजक पौडेलका अनुसार परियोजनाले भरपर्दो र सुरक्षित बैदेशिक रोजगारमा जानका लागि वैदेशिक रोजगारमा जान चाहने व्यक्ति र उनिहरुका परिवारका लागि सुचना,मनोसामाजिक परामर्श,वित्तिय साक्षरता,सीप प्रदान जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।