तनहुँ  पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको दश किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्ग अन्तर्गत दमौलीदेखि कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो ।

दमौलीदेखि सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार उक्त खण्ड ‘आक्सफाल्ट प्रविधि’बाट सडक कालोपत्र गरिनेछ ।

पूर्वाधार विकास कार्यालयले मैनाचुली(सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर सहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौता अनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण गरिनेछ ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार उक्त खण्डको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिए । सो अवसरमा मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार विकास निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारी सहितको टोलीले हालसम्मको कामका बारेमा जानकारी लिएको थियो ।

सो मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्ने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर यस वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारी साधन पार गर्न मिल्दैन । घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि भए वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिएको छैन ।

उक्त पुल निर्माणका लागि विसं २०७५ माघमा सम्झौता भएको थियो । एक सय पाँच मिटर लम्बाई रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेवेल पुल सडक विभाग अन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

उक्त पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भईरहेको मुग्लिङ–नारायणगढ सडक भन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिने जनाइएको छ ।

दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुई पाङ्ग्रे सवारी साधन आवतजावत गरेपनि दुई पाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन गरेका छन् ।रासस