मनकामना : गोरखाको शहिदलखन गाउँपालिकाले बजार अनुगमनलाई तीब्र पारेको छ ।नागरिकहरुको स्वास्थ्य सुरक्षालाइ ध्यान दिदै पालिकाभित्र रहेका बजारमा रहेका होटल तथा पसलहरुको अनुगमन गरिएको पालिकाले जनाएको छ ।
सोही अन्तरगत आज वाड नम्बर २ र ३ को मनकामना बजारमा अनुमगन गरिएको छ । अनुगमनका क्रममा अधिकांश होटलहरुमा मूल्य सूचि नराखेको, केही ब्यवसायहरु वडामा दर्ता नभएको भेटिएको गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बताउनुभयो । साथै केही होटलहरुमा बाल मजदुर प्रयोग गरिएको पनि भेटिएको उपाध्यक्ष तिवारीले बताउनुभयो ।
साथै अनुगमनका क्रममा म्याद गुज्रिएको पेय पदार्थ कोक,फ्रुटी, डिउ, फ्यान्टा, बडवाइजर बियर लगायत मदिराहरु भेटिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले म्याद गुज्रिएको खाद्य सामाग्री विक्री वितरण नगर्न, होटलहरुमा कामदारको रुपमा बालबालिका नराख्न र मूल्य सूचि राख्न निर्देशन दिएको र अटेर गरे कारबाही गर्ने चेतावनी दिएको छ । स्थानीय तहमा व्यावसाय दर्ता गरेर मात्र कारोवार गर्न समेत पालिकाले सचेत गराएको छ ।
अनुगमनमा जनप्रतिनिधि,पालिका कर्मचारी,सञ्चारकर्मी र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । पालिकाले हिजो पनि वडा नम्बर ७ र ८ का पसलहरुमा अनुगमन गरिएको प्रशासन शाखा प्रमुख पूर्ण बहादुर गहतराजले बताउनुभयो।
इच्छाखबर संवाददाता












