कुरिनटार  :  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ। सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो।
नागढुंगा–मुग्लिन सडक आयोजना (पूर्वीखण्ड) धादिङका अनुसार असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।उक्त अवधीभर काठमाडौँबाट बाहिरिने सवारी साधनहरुलाई धादिङको थाक्रे गाउँपालिका १ एक्लेफाट र काठमाडौँ भित्रिने सवारी साधनलाई गजुरी गाउँपालिका ५ घाटबेसीमा रोकिने आयोजनाले जनाएको छ

रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्ण रूपमा बन्द गरिने छ। सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ।
निर्माणको क्रममा सडक प्रयोगकर्तालाई सक्ने जोखिमलाई मध्यानजर गर्दै यातायात आवागमनलाई रोकिने भएको हो ।