तोमन डाडाँ : गोरखामा पनि चेपाङ समुदायले सामुहिक रुपमा न्वागी (छोनाम) पर्व मनाएका छन् । जिल्लाको गण्डकी गाउँपालिकाको कार्यालय परिषर तोमनडाडाँमा एक कार्यक्रमकाबिच सामुहिक रुपमा न्वागी मनाएका हुन् ।
चेपाङ समुदायको छोनाम(न्वागी)को अवसरमा गण्डकी गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो । गाउँपालिकामा न्वागीको अवसरमा भएको कार्यक्रममा विभिन्न वडाबाट आएका चेपाङ समुदायले झाँकी प्रदर्शनी गरेका थिए । परम्परागत पोसाक कछाड, स्टकोट, गुन्यु, चोलीमा सजिएर सीमान्तकृत चेपाङ समुदायले मौलिक पहिरनको प्रदर्शनीसमेत गरेका थिए ।

चेपाङ समुदायको प्रमुख पर्व ‘न्वागी’ को अवसरमा समुदायका विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिए । तत्कालीन संविधानसभा सदस्य मायाँ चेपाङ, गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य कुन्तीमाया चेपाङ, वडा सदस्य कमानसिं चेपाङ, विलबहादुर चेपाङ, कल्पना चेपाङ, पूर्वकार्यपालिका सदस्य भगवती चेपाङ, पूर्ववडा सदस्य रुन्ची मायाँ चेपाङ, भीमबहादुर चेपाङलाई सम्मान गरिएको छ ।

निमावि तहका स्थानीय शिक्षक आइतसिं चेपाङ, विलबहादुर चेपाङ, विमला चेपाङ, स्टार्फ नर्स फनिसा चेपाङ, प्राविधिक सहायक खमबहादुर चेपाङ, पहिलो स्नातकोत्तर उत्तिर्ण गर्ने रमिला चेपाङ, समुदायबाट पहिलोपटक एसएलसीमा सहभागी भएकी मिनमाया चेपाङ पनि सम्मानित भएकी छन् । त्यस्तै प्रावि स्थायी चन्द्रबहादुर चेपाङ, कर्णबहादुर चेपाङ, भिमलाल चेपाङ, एसईईमा ३ जीपीए ल्याएकी निरुता चेपाङ, २.७ जीपीए ल्याएका प्रदिप चेपाङ र सुस्मिता चेपाङलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र नेपाल चेपाङ संघ गोरखाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिनको रुपमा पनि लिइन्छ ।
। छोनाममा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वागी भनिन्छ ।
नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् ।

इच्छाखबर संवाददाता












