अविरल यात्री

भरतपुर  :  नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य रमेश लेखकले नेपाली काङ्ग्रेस कालजयी पार्टी भएको बताएका छन् । “मुलुकको व्यवस्था बदलेर पनि देशमा सबैभन्दा ठुलो पार्टी रहिरहन्छ भने त्यो कालजयी पार्टी हुन्छ । नेपाली काङ्ग्रेस त्यस्तै पार्टी हो” लेखकले भने ।

नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर ३ ले शनिबार भरतपुर-१९ शारदानगरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै लेखकले हिजो संवैधानिक राजतन्त्रको धारणालाई बोकेर संविधान निर्माण गर्दा पनि काङ्ग्रेस देशको सबैभन्दा ठूलो पार्टी रहेको स्मरण गरे । “आज त्यसको विपरीत गणतान्त्रिक व्यवस्थाको संविधान निर्माण पछि पनि संघीय संसदमा सबैभन्दा ठूलो पार्टी नेपाली काङ्ग्रेस नै छ । यसरी देशको शासन व्यवस्था नै बदलेर आउँदा पनि देशको प्रमुख पार्टी हुनु भनेको कालजयी पार्टी हुनु हो” लेखकले दाबी गरे ।

पार्टी भित्र विभिन्न गुट उपगुट बनाएर पार्टीभित्रै अन्तरघात भएको विषयलाई व्यङ्य कस्दै लेखकले भने, ‘मैदान रह्यो भने खेल खेल्न सकिन्छ तर मैदानै भत्काइयो भने खेल खेल्न सकिन्न । पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा लड्न पाइन्छ तर जब प्रतिस्पर्धा पार्टीभन्दा बाहिर जान्छ त्यहाँ, हामी भित्र भएको आपसी मनमुटावलाई भुलेर एकढिक्का भएर लागे मात्रै पार्टी बलियो हुनेछ ।’

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीलाई मजबुत र एकढिक्का बनाउन सबै एक भएर लाग्नुपर्ने बताए । पार्टीभित्र भएका असन्तुष्टीलाई पार्टी कार्यालयमा लिएर आउन अनुरोध गर्दै सभा सम्मेलनमा कार्यसमितिलाई आक्रमण गरेर संगठन बलियो हुन नसक्ने उनको तर्क थियो । ‘करीब ७५ वर्षको लामो इतिहास बोकेको नेपाली काङ्ग्रेसले जनतासँग जे माग्यो त्यो नेपाली काङ्ग्रेसलाई दिएको छ । तर जति कुरा जनताले मागे त्यति नेपाली काङ्ग्रेसले जनतालाई दिन सकेको छैन’– खनालले भने । खनालले काङ्ग्रेसले जनतालाई सुशासन दिन नसकेको कुरालाई इङ्गित गरेका थिए । तर यसलाई कसरी सच्याएर जान सकिन्छ त्यता ध्यान दिनुपर्ने भन्दै काङ्ग्रेसलाई आक्रमण गरेर संगठन बलियो नहुने उनको तर्क थियो । खनालले ऐलेको व्यवस्था र पद्धतिलाई जोगाउनको लागि काङ्रेसको आवश्यकता रहेको औंल्याए ।

त्यस्तै चितवन काङ्ग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले पार्टीभित्रै अन्तरघात गर्ने नेता कार्यकर्ताको कारवाही केन्द्रीय अनुशासन समितिले फुकुवा गरेको प्रति तीव्र आलोचना गरे । ’पार्टीका उमेद्वारलाई सक्रिय सहयोग गरेमा कारवाहीमा परेका सदस्यहरुको कारवाही फुकुवा गर्ने परिपत्र त केन्द्रले गर्‍यो। तर क–कस्ले सक्रिय सहयोग गरे, क(कसले गरेनन्रु एकपटक उमेद्वारलाई सोध्नु पर्छ कि पर्दैन?’ श्रेष्ठले केन्द्रीय सदस्य रमेश लेखकलाई प्रतिप्रश्न गरे। आफ्नो आग्रह पूर्वाग्रह कसैप्रती नभएको प्रष्ट पार्दै पार्टीभित्र विधि र विधान भन्दा माथी कोहि नभएको समेत प्रष्ट पारे।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभाका सदस्य तथा स्वास्थ्य मन्त्री उत्तम जोशीले क्षेत्रीय सम्मेलनले काङ्ग्रेस नयाँ जोश र जाँगरका साथ अगाडि बढ्ने तर्क राखे । काङ्ग्रेस विपि कोइरालाको विचारमा दृढ रहेको भन्दै जोशीले अब काङ्ग्रेस यौटै विचार र सिद्धान्तमा विचलन नहुने बताए । तर काङ्रेसलाई अझै फराकिलो बनाउन काङ्ग्रेसभित्र रुपान्तरण र पुस्तान्तरण आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, चितवन काङ्ग्रेसका पूर्व सभापतिद्वय विकाश कोइराला र तोपमान सिं गुरुङ, नेपाल तरुण दलका केन्द्रीय सदस्य दीपक अधिकारी, भरतपुर महानगरका उपप्रमुख तथा काङ्ग्रेस भरतपुर महानगर सभापति चित्रसेन अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।