तनहुँ :  आँबुखैरेनी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालयलाई  स्कुल बस हस्तान्तरण गरिएको छ । पालिकाको नीति तथा कार्यक्रम बमोजिम सामुदायिक बिद्यालय सुधार कार्यक्रम अन्तर्गत पालिकाको आफ्नै आन्तरिक स्रोतबाट २ वटा ४१ सिटर आइसर कम्पनीको स्कुल बस खरिद गरी आज एक कार्यक्रमकाबीच आँबुखैरेनी–१, स्थित चन्द्रोदय मावी र आँबुखैरेनी–२, स्थित अकला निमाविलाई सो बस हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीहरुलाई विद्यालय सम्म आउतजावत तथा पठनपाठनमा सहजताका लागि स्कुल बस खरिद गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले  बताउनुभयो । २८ लाख ८५ हजार रुपैयाँको लागतमा खरिद गरी सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको सो स्कुल बसको सम्बन्धित वडाले गाउँपालिकाको संरक्षकत्वमा जिम्मा लिने र सम्बन्धित विद्यालयले व्यवस्थापन गर्नेछ । यसैगरी, ६ नं. वडा स्थित कन्यादेवि माविको लागि स्रोत व्यवस्थापन हुदै गएको र केहि दिनपछि सो विद्यालयको लागि स्कुल बसको व्यवस्थापन गरिने अध्यक्ष चुमानले जानकारी दिनुभयो ।