कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्रपसाद उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बीमा गरिदिनुभएको छ । आर्थिक बर्ष २०७९/८० को आफुले पाउने पारिश्रमक वापतको सेवासुविधबाट ६१ घरपरिवारका विपन्न नागरिकलाई  स्वास्थ्य बीमा गरिदिनुभएको हो ।  
वडाध्यक्ष उप्रेतीले एक कार्यक्रमकाबिच गाउँपालिका स्वास्थ्य शाखा अन्तरगत बीमा बोर्डलाई दुई लाख १३ हजार  पाँच सय रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । 
चेक हस्तान्तरण गर्दै वडाध्यक्ष उप्रेतीले  निर्वाचनका समयामा गरेको बाचा अनुसार  आफुले  पाउने सेवासुविधाबाट विपन्न नागरिकलाई  स्वास्थ्य बिमा गरिदिएको बताउनुभयो । आर्थिक अभावका कारण यहाँका  नागरिकहरुले स्वास्थ्य बीमा गर्नबाट बञ्चित भएकाले   उपचार गर्न समस्या  भएकाले बिमा गरिदिएको वडाध्यक्ष उप्रेतीको भनाई छ । 
वडाध्यक्ष उप्रेतीले भन्नुभयो,“स्वास्थ्य बीमा गर्न नसक्दा यहाँका विपन्न नागरिकहरु सामान्य बिरामी हुदाँ समेत  चन्दा माग्दै हिड्नुपर्ने बाध्यता छ ,मैले निर्वाचनकै बेला सेवासुविधा  नलिने घोषणा गरेको थिएँ, सोही अनुसार आज विपन्न परिवारलाई स्वास्थ्य बिमा  गरिदिएको  छु ।”वडाध्यक्ष उप्रेतीले  आज बिमित भएका नागरिकहरुलाई बिमालाई नविकरण गरि निरन्तरता दिन आग्रह गर्नुभयो ।  उहाँले  नविकरण गर्न नसके आफैले नविरकणका लागि रकम उपलब्ध गराइदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  
उहाँले एक बर्षको पारिश्रमिकले ७१  परिवारको बीमा हुने भन्दै बाँकी १० जनाको  पनि चाडैँबीमा गरिने  बताउनुभयो । 
 गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले  रुद्रप्रसाद उप्रेतीले आफुले पाउने सेवासुविधाबाट विपन्न नागरिकलाई  स्वास्थ्य बिमा गरिदिएकोमा  धन्यावाद दिनुभयो ।  अध्यक्ष गुरुङले गाउँपालिकाले  ५ देखि  १० प्रतिशत  विपन्न नागरिकलाई  निशुल्क स्वास्थ्य बीमा  गर्ने गाउँपालिकाको लक्ष्य रहेको  बताउनुभयो। हाल विपन्नलाई निशुल्क बिमा गर्ने काम भइरहेको बताउनुभयो ।  साथै बिमा गर्न सक्ने परिवारले पनि बिमा नगरेकाले स्वास्थ्य बिमा सम्बन्धी जनचेतना फैलाउने काम पनि गाउँपालिकाले सञ्चालन गरिरहेको  बताउनुभयो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्वाचन क्षेत्र २ (१) का सांसद कृष्णप्रसाद सिलवालले जनप्रतिनिधिको हैसियतले गरिएको यो नमूना काम भएको भन्दै नागरिकसँग जोडिने काम गरेकोमा धन्यवाद सदनुभयो । उहाँले जनताले
जनताको चाहना अनुसार काम गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको भन्दै विशिष्ट अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले विपन्न नागरिकको दुखको सहारा बनेकोमा वडाध्यक्ष उप्रेतीको कामको प्रशंसा गर्नुभयो । 
  यहाँका   धेरै स्थानियहरु आर्थिक अभाव र चेतना कमीका कारण  स्वास्थ्य बीमाबाट बञ्चित छन् ।