कुरिनटार : चितवनको इच्छाकामनामा रोजगारी पहिचानका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाभित्र रहेको रोजगार दाताहरुको सहभागितामा स्थानिय तहमा उपलब्ध हुने रोजगारीको समस्याको पहिचान, अवसरको खोजी एवं अभिवृद्धी गर्ने उदेश्यले स्थानिय तहको रोजगार रणनिति तर्जुमा सन्दर्भमा रोजगारदाताहरुको धारणा संकलनका लागि रोजगार संवाद तथा रोजगार रणनिति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सहभागि उद्योगी व्यवासयीहरुले गाउँपालिका भित्र रहेका उद्योगहरुलाई सञ्चालनका लागि सहजता प्रदान गर्न आग्रह गरेका थिए । उद्योग सञ्चालन गर्न आवश्यक कानुनी प्रकृया सहित आवश्यक पुर्वाधारण विद्युत सडक लगायतमा सहजता प्रदान गर्नुपर्ने उनिहरुको माग छ । उद्योग रहे नै यहाँका स्थानियले रोजगारी पाउने भएकाले उद्योगहरुलाई सञ्चालनका लागि सहज वातावरण सिर्जना गर्न सुझाव दिदैँ उद्योगहरुमा अनुगमन गर्न समेत आग्रह गरेका थिए । उद्योगहरु धरासयी अवस्था रहेकोले रोजगारी सिर्जनाका लागि गाउँपालिकाले उद्योगहरुलाई टिकाई राख्ने निति तथा कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
साथै सहभागीहरुले गाउँपालिकाले स्वरोजगार बनाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । उनिहरुले कृषि क्षेत्रमा उत्पादन क्षेत्रको पहिचान गरि युवाहरुलाई अनुदान मार्फत कृषि पेशामा लाग्न प्रोत्साहन गर्न सुझाव दिएका छन् ।
प्रगती पाठशालाका प्रिन्सिपल टंक त्रिपाठीले जती निति बनाएपनि रोजगार दिने उद्योगहरुलाई टिकाउने गरि नआएको बताउनुभयो । उहाँले रोजगार प्रदान गरिरहेको उद्योगहरुप्रति सरकार सकरात्मक नरहेको टिप्पणी गर्नुभयो । उहाँले उद्योग नै नरहे रोजगारी सिर्जना कसरी हुन्छ भनेर प्रश्न गर्नुभयो । उहाँले निजि विद्यालयहरुले स्थानियलाई रोजगार प्रदान गरेको तर स्थानिय सकार निजि विद्यालयप्रति सकरात्मक नरहेको बताउनुभयो । अहिले प्रगती पाठशालाले ५० जनालाई रोजगार दिएको र ३५ जना स्थानिय रहेको बताउनुभयो । स्थानिय स्तरमा दक्ष जनशक्ति अभाव हुदाँ बाहिरबाट ल्याउनुपरेको पनि उहाँको भनाई छ ।
साथै मस्र्याङ्गदी बहुउदेश्यीय सहकारी संस्था लिका प्रबन्धक कुमार श्रेष्ठले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह गर्नुभयो ।उहाँले मस्र्याङ्गदी सहकरीले युवाहरुलाई स्वरोजगार बनाउने अभियान चलाइरहेको बताउनुभयो । उहाँले सीपको आधारमा युवाहरुलाई सहुलियत श्रण प्रदान गरिरहेको बताउनुभयो । वयवसायिक कृषि पेशा गर्न चाहनेलाई तालिम र सहुलियत ऋण प्रदान गरिरहेको बताउनभयो । रोजगार सिर्जना लागि गाउँपालिकासंग सहकार्य गरेर अघि बढ्न तयार रहेको उहाँको भनाईछ ।
बाह्रसिङ्गे बियर फ्याक्ट्रीका म्यानेजर माधव पौडेलले लोडसेडिङ र पानीका कारण उद्योग सञ्चालनका लागि समस्या भएको बताउनुभयो ।फ्याक्ट्रीमा अहिले २०३ जनाले रोजगार पाएको बताउनुभयो । स्थनियहरुले नै बढी रोजगारी पाएको उहाँको भनाई छ ।
उद्योग संघका रामहरि कडेँलले उद्योगीहरुसंग के कस्ता समस्याहरु छन् कसरी अघि बढ्नपर्छ भन्नेमा स्थानिय सरकारले चासोका साथ समय समयमा छलफल र अन्तरक्रिया चलाउनुपर्ने बताउनुभयो । उद्योगमा काम गर्ने मजदुरहरुको अवस्था के छ उद्योगमै गएर अनुगमनसमेत गर्न आग्रह गर्नुभयो ।
यूवा कृषक रामप्रसाद बोहोराले कृषि क्षेत्रबाट पनि रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो । उहाँले युवाहरुलाई कृषिमा आकर्षित फलफुल खेती पशुलपालनको लागि क्षेत्र पहिचान गरि उन्नत जातको विउविजन निशुल्क तथा अनुदानमा उपलब्ध गराउने सहुलियत ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले उद्योगी व्यवसायीहरुलाई ढुक्कसंग उद्योग सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले उद्योग सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई स्थानियलाई रोजगारमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचन, वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ लगायतका जनप्रतिनिधिले उद्योगी व्यवसायीहरुलाई साथ र सहयोग हुने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा उद्योगी व्यवसायीहरु सहकारी, बैंकका प्रतिनिधि, जनप्रतिनिध लगायतको सहभागिता रहेका थिए । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
इच्छाखबर संवाददाता












