मुग्लिन : पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुलाई उद्योग वाणिज्य संघ मुग्लिन र होटल संघ मुग्लिनले खाजा र पानी वितरण गरेका छन् ।चाउचाउ चिउरा र मिनिरल वाटर नि : शुल्क वितरण गरेका हुन् ।
उदोग वाणिज्य संघ मुग्लिनको नेतृत्वमा मुग्लिनका स्थानिय व्यवसायीहरुबाट सहयोग जुटाई यात्रुहरुलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले बताउनुभयो ।केही यात्रुहरुले समेत सो अभियानमा साथ दिएको उहाँले बताउनुभयो ।
यसैबिच होटलहरुमा अनुगमन गरिएको छ । यात्रुहरुबाट होटलहरुले खाना तथा खाजाको मुल्य मंहगो लिएको भन्ने गुनासो आएपछि अनुगमन गरिएको होटल संघ मुग्लिनका अध्यक्ष राम श्रेष्ठले बताउनुभयो । मुग्लिनका सबै होटलहरुमा मुल्य सूचि रहेकाले यात्रुहरु ठगिन नपर्ने सघका अध्यक्ष श्रेष्ठले बताउनभयो। अनुगमनका क्रममा कतिपय होटलले मुल्य सुचि भन्दा कम मुल्यमा खाना खुवाएको समेत भेटिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“केही यात्रुहरुबाट खाना महंगो भयो भन्ने गुनासो आएपछि हामीले अनुगमन गरेका छौँ,सबै होटलहरुमा मुल्य सूचि राखिएको छ, कतिपय होटलहरुले मुल्य सुचि भन्दा कममा खाना खुवाएको छ, हरेक होटलमा मुल्य सूचि भएकाले यात्रुहरु ठगिन पर्दैन ।” कुनै होटलले मुल्य सुचि भन्दा बढी मुल्य लिए होटल संघ मुग्लिनमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । मुग्लिनमा होटल संघमा दर्ता भएका मात्र ४७ वटा होटल छन् ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा गएराती साढे ११ बजे पहिरो खसी सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
गत बिहिबारदेखि सोही स्थानमा पटक–पटक पहिरो खस्दा यात्रुहरुले सास्ती बेहोर्दे आएका छन् । यो सडक हुदैँ दैनिक औसत १० हजार सवारी साधनहरु आउजाउ गर्ने गर्छन् ।
इच्छाखबर संवाददाता












