धादिङ : गुरुङ समुदायको अत्याधिक बसोबास रहेको धादिङ जिल्लाको गुरुङ गाउँ मध्यका एक बेनिघाट रोराङ गाउँपालिका वडा नं. १० मा रहेको जवाङ गाउँमा पहिलो पटक तीनमहिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गुरुङ समाज जवाङको आयोजनामा शनिबारदेखि ३ महिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
त्होर्जे तमू भाईखलक जवाङ इकाइका अध्यक्ष जग बहादुर गुरुङको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रमको तमू प्ये ल्हु संघ काठमाडौँका पूर्व अध्यक्ष तथा  पूर्व प्रहरी महानिरिक्षक हेम बहादुर गुरुङले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व प्रहरी महानिरिक्षक    गुरुङले मातृ भाषाको संरक्षण गर्न सबै लागी पर्नुपर्ने बताउनुभयो ।  मातृ भाषा सिक्नलाई कुनै पनि उमेर समुहले नछेक्ने भन्दै सबै गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिक्नका लागि आग्रह गर्नु भयो । उहाँले आफुले सिकेका भाषाहरु आफ्ना पुस्तालाई हस्तान्तरण गर्दै गुरुङ भाषालाई जिवन्त राख्नुपर्ने समेत जोडदिनुभयो ।
कार्यक्रममा जिसस धादिङका सदस्य उत्तम घले, पूर्व वडाध्यक्ष अमर गुरुङ, लगायतको उपस्थिति रहेको थियो ।
आगामी ३ महिनासम्म सञ्चालन हुने भाषा प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा तमू प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष शुक्रराज गुरुङले प्रशिक्षार्थीहरुलाई गुरुङ भाषाको तालिम दिनुहुने छ  ।

ज्ञानेन्द्र गुरुङको विशेष पहलमा  भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको हो ।  आफ्नो जातीको  पहिचानका लागि  भाषा संस्कार संस्कृतिलाई संरक्षण गर्न पर्छ भन्ने उदेश्यले आफुले धेरै समय अघिदेखी  गाउँमा  गुरुङ भाषाको कक्षा संचालन गर्नुपर्छ भनी लागी परेको  बताउनुभयो । अब  आफ्नो जातीको भाषा धर्म संस्कृतिको जगेर्ना गर्न यूवाहरुले नै पहल कदमी लिनुपर्ने  उहाँको  भनाई छ ।