चितवन : भरतपुरमा प्रज्ञा स्मृति प्रतिष्ठान तथा प्रदेश खेलकुद परिषद् बागमतीको साझेदारीमा दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन हुने भएको छ । भोलि (शनिबार) भरतपुरस्थित पिसजोन स्कुल गौरीगञ्ज महानगरपालिका वडा नम्बर ८ मा म्याराथन हुन लागेको हो।
कार्यक्रम विहान ७ बजे हुँदैछ। कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जमरकट्टेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रज्ञा स्मृति प्रतिष्ठानका कार्यक्रमा संयोजक सन्तु कुमार दराईले बताए। प्रतियोगितामा इलाइट महिला र पुरुष, मास्टर पुरुष, जुनियर महिला र पुरुष, चितवन विशेष महिला र पुरुष गरी चार वटा क्याटेगोरीमा हुनेछ। इलाइट क्याटेगोरीमा प्रथम, द्धितीय र तृतीयले क्रमशः नगद ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार पाउने छन्।
यस्तै मास्टर क्याटेगोरीका विजेताहरुले ३०, २५ र १५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। जुनियर महिला र पुरुष क्याटेगोरीका विजेताहरुले क्रमशः १५, १२ र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै चितवन विशेष महिला र पुरुष क्याटेगोरीले क्रमशः ३०, २० र १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता ६५ किलोमिटर दुरीको रहने छ । पिसजोन स्कुलबाट सुरु हुने म्याराथन नारायणी किनर मेघौली, सितामाई, जगतपुर, बाटुली पोखरी हुँदै पिसजोन स्कुलमा पुगेर समापन हुने छ । म्याराथनका लागि चितवन लगाएत देशैभरिबाट खेलाडीहरु आउने क्रम रहेको संयोजक दराईले बताए । उक्त खेलमा देशै भरिबाट १५० खेलाडीको सहभागिता रहने अनुमान गरीएको उनले जानाकारी दिए ।
यसअघि पहिलो सँस्करण नारायणगढस्थित रिङरोड सडक खण्डमा भएको थियो । स्वर्गीय प्रकाश दाहाल र ज्ञानु दाहाल केसीको स्मृतिमा यो प्रतिष्ठान बनाईएको हो । यस प्रतिष्ठानले खेलकुदलगायतका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।