मुग्लिङ : सामुदायिक हस्पिटलको रुपमा संचालित मुग्लिङ हाईवे हस्पिटलमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को समन्वयमा मुग्लिङ हाइवे हस्पिटलले नि : शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो ।
उक्त शिबिरमा २३० जनाले स्वास्थ्य सेवा लिएका छन् । स्त्री तथा प्रसुती तर्फ ८८, अर्थोपेडिक सेवा ६७ र मेडिसिन तर्फ ७५ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।
स्वास्थ्य शिबिरमा भरतपुर अस्पतालका बरिष्ठ स्वास्थ्य बिशेषज्ञहरुबाट स्वास्थ्य जाँच तथा उपचार गराएका थिए । शिबिरमा बरिष्ठ गाईनोकोलोजिष्ट डा. सजन केसी, इन्टरनल मेडिसिन बिशेषज्ञ डा. सन्दिप पाण्डे, बरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाश कँडेल, मेडिकल अफिसर डा. रामनाथ ठाकुर र स्वास्थ्यकर्मीहरुको टिमले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए । साथै स्त्री तथा प्रसूति, पाठेघर क्यान्सर, प्रेसर, सुगर, थाईराईड, पेट, छाती, मुटु, हाड, जोर्नी, नसा, घुडा र कम्मरको दुखाई सम्बन्धी समस्याहरुको परीक्षण तथा उपचार सेवा समेत प्रदान गरिएको मुग्लिङ हाइवे हस्पिटलले जनाएको छ ।