कुरिनटार,७ फागुन । स्थानिय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको १० महिना भइसकेको छ ।जनप्रतिनिधिहरुले लिइने सेवा सुविधा बारे जनस्तरमा चर्चा हुने गरेको छ । देशका कतिपय स्थानिय तहका जनप्रतिनिधिहरु अनावश्यक खर्च र सेवासुविधा लिएको भनेर आलोचित भइरहेका छन् ।
तर चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलाई गाउँपालिकाले आफुलाई दिने सेवा सुविधा बारे खासै चासो छैन । उहाँले आफुले पाउने मासिक तलब विपन्न परिवारका लागि बीमा गरिदिने घोषणा गरिसक्नुभएको छ । सोही अनुरुप आफुले पाउने तलब हाल सम्म लिएको छैन ।
त्यति मात्र होइन वडाले सबै वडाध्यक्षलाई उपलब्ध गराएको मोटरसाइकल र पेट्रोल खर्च समेत लिएको छैन । मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बीमा गर्दै छु, वडाको सवारी साधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन, खासमा भन्नु पर्दा के के सुविधा पाइन्छ खासै थाहा पनि छैन, त्यती चासो पनि राख्दिन – वडाध्यक्ष उप्रेतीले भन्नुभयो ।
वडा नम्बर ४ ले बृद्धभत्ता घर–घरमै पुगेर वितरण गर्दै आएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो । उहाँले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको विल भरपाई समेत कार्यालयमा पेस नगरेको बताउनुभयो ।
वडाध्यक्ष उप्रेतीले भन्नुभयो, ‘हामीले घर–घरमा पुगेर बृद्ध भत्ता वितरण गरेका छौँ, सो वापत् हुने खर्च समेत कार्यालयमा पेस गरेका छैनौँ, ग्लोबल आइएमई बैँकले टोलटोलमा कर्मचारी खटाएर बृद्ध भत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ ,ग्लोबल आइएमई बैँक कुरिनटार शाखालाई धन्यवाद दिन चाहन्छु । ’
लामो समयदेखी सामाजिक कार्यमा सक्रिय रहदैँ आउनु भएका वडाध्यक्ष उप्रेतीले असाह्य रोगीहरुको उपचारका लागि आर्थिक सहयोग गर्दै आउनु भएको छ । साथै उहाँले शिक्षा, खेलकुद लगायतका क्षेत्रमा पनि सहयोग गर्दै आउनुभएको छ । यस अघि टोल विकास संस्थाको अध्यक्ष समेत भएर काम गरिसक्नु भएका वडाध्यक्ष उप्रेतीले सामाजिक काममा निरन्तर लाग्दै आएका कारण वडाध्यक्ष भएपछि केही जिम्मेवारी बढे पनि आफुलाई खासै भिन्नता महशुस नभएको बताउँनुभयो ।
आफुले सकेसम्म आगामी दिनमा पनि वडाध्यक्ष बापत् पाउने सेवा सुविधा नलिने बताउनुभयो । म वडाध्यक्ष नहुँदा पनि शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ म आगामी दिनमा पनि सकेसम्म सेवा सुविधा लिने छैन, नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु, लिन आएको होइन – वडाध्यक्ष उप्रेतीले भन्नुभयो ।
उहाँले अलपत्र परेर रोकेका वडाका विकासका कार्यहरुलाई सुचारु गरिएको र केही सम्पन्न भइसकेको बताउनुभयो । वडा नम्बर ४ को कुरिनटारमा हस्पिटल बन्नका लागि टेण्डर आव्हान समेत भइसकेको बताउनुभयो ।
उहाँले निर्वार्चित भएर आएपछि एक महिनामा करिब एक करोडको विभिन्न आयोजनाका कामहरु सम्पन्न गरेको बताउनुभयो ।प्रदेश सरकारबाट बजेट विनियोजन भएर पनि विगतको स्थानिय सरकारले काम नगरि फ्रिज हुने अवस्था रहेको योजनाहरुलाई आफुले सम्पन्न गरेको उहाँको भनाई छ। उहाँका अनुसार नयाँ बस्ती–शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र सम्मको सडकको ढलान, कुरिनटारदेखि बेलडाडाँ सडक अन्तरगतको ढलान, नाग्दीखोलादेखि स्याक्लाङ हुदैँ लामीडाडाँ जाने सडकबाटोको ११८ मिटर ढलान, कुरिनटार सोता बगरमा तटबन्ध कुरिनघाटमा ग्यापिङ जाली लगाउने र लेवाटारको तटबन्धन सम्पन्न भएको छ ।
वडा नम्बर ४ कुरिनटार मै बृहत आँखा शिविर सम्पन्न भएको र पालिकाभरका ७ वटै वडाका २०३ जनाले निशुल्क मोतियाविन्दुको अपरेशन गरेको बताउनुभयो । सो अवसरमा निशुल्क चस्मा वितरण र अप्रेशन गर्ने आँखाका विरामीलाई निशुल्क खाना सुविधा र यातायातको समेत सुविधा रहेका थिए ।
सर्वशान्ति मावि कुरिनटारका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४५ लाखको ४ कोठे र बकुल्लहर आधारभूत विद्यालय लेवाटारका लागि २ कोठे भवनका लागि रु २२ लाख बजेट विनियोजन भएको वडाअध्यक्ष उप्रेतीले बताउनुभयो ।
गाउँपालिकाको एक मात्र क्याम्पस सर्वशान्ति क्याम्पस सञ्चालनका लागि गाउँपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि यसको आवश्यक भौतिक संरचना निर्माण र शैक्षिक सुधारका लागि सहयोग निरन्तर रहने बताउनुभयो ।
उहाँलले कुरिनटार बजारको क्षेत्रको नाला मुग्लिन –नौविसे सडक स्तरोन्नतीकोे आयोजनाले नै नालासहित सडक निर्माण प्रकृया अगाडी बढाएको कारण वडाले तत्काल सुरु नगरेको बताउनुभयो ।
उहाँले वडामा विभिन्न ४० वटा योजनाहरु छनौट गरि काम सुरु गरिएको बताउनुभयो । २/४ वटा बाहेक सबैको काम सुरु भइसकेको उहाँको भनाई छ ।
उहाँले प्रत्येक टोलटोलमा टोल भेला गरि उक्त योजनाहरु छनौट गरिएको बताउनुभयो ।।आगामी आर्थिक बर्षदेखी वडामा धेरै भन्दा पनि बर्षका एक दुई वटा गौरवका आयोजनाहरु सञ्चालन गरिने बताउनुभयो । गाउँपालिका अध्यक्ष सामु पनि आफुले यी कुरा राखेको बताउनुभयो ।