चितवन : चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको आज आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदो वैशाख १० गते आइतवारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपचुनाव गर्ने गरी चुनावको मिति तोक्ने निर्णय गरेको छ ।
आयोगले आज स्वीकृत गरेको उपचुनावसम्बन्धी निर्वाचन कार्यक्रमअनुसार भोलि सोमवारदेखि आउँदो चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम चैत २२ गते हुनेछ । उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुने आयोगले जनाएको छ ।
इच्छाखबर संवाददाता












