आशिष अधिकारी

भरतपुर : भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत सोमबार भरतपुर–२१ का बालबालिकाहरुलार्इ न्यानो कपडा वितरण गरेको छ । भरतपुर–२१ रगिलामा रहेको आधारभूत विद्यालय रगिला र राष्ट्रिय प्राथमिक विद्यालय सीतापुर स्कुलमा पुगेर न्यानो कपडा वितरण गरिएको महानगरपालिकाले जनाएको छ । आधारभूत विद्यालय रगिलामा ८१ जनालाई र राष्ट्रिय प्राथमिक विद्यालय सीतापुरका २८ जना बालबालिकाललाई न्यानो कपडा वितरण गरिएको हो । ‘मेयरसँग बालबालिका कार्यक्रम मूलतः बालविकास देखि कक्षा ५ सम्मका बालबालिकाहरुप्रति लक्षित कार्यक्रम हो ।

कार्यक्रममा न्यानो कपडा वितरण गर्नु हुँदै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भने– ‘अब कुनै पनि बालबालिका चिसोबाट प्रभावित हुन पर्देन ।’ अधिकारीले चिसोबाट थप कोही प्रभावित हुन नपरोस् भन्ने हेतुले भरतपुर महानगरले बालबालिकालाई लक्षित गरेर न्यानो कपडा वितरण गरेको उप प्रमुख अधिकारीको भनाइ छ । केही दिन अघि देखि चितवनसहित देशैभर मौसममा परिवर्तन आएको छ । जाडो बढेसँगै भरतपुरलगायतका स्थानहरुमा दिउँसै आगो बालेर बस्नेहरुको भीड देखिएको छ । विशेष गरी तरार्इका जिल्लामा नागरिकहरु चिसोबाट बढी प्रभावित भएको देखिन्छ । चिसोले अझै बढी साना नानीबाबुलाई प्रभावित बनाएको बाल चिकित्सकहरुले बताएका छन् ।

बालरोग बिषेशज्ञ डा. आमोदबहादुर थापा बच्चाहरुलाइ चिसोबाट जोगाउनको लागि विशेषगरी न्यानो कपडामा ध्यान दिनुपर्ने तर्क राख्नु हुन्छ । बिहानको खुल्ला आकाश र शीतबाट मात्रै बच्चाहरुलाई जोगाउन सकिएको खण्डमा बच्चाहरु चिसोबाट थप प्रभावित हुन नपाउने डा. थापाको भनाइ छ । बच्चाहरुलाइ चिसो भएको कुनै लक्षण देखिए तुरुन्त चिकित्सकको सल्लाहअनुसार औसधि सेवन गराउनु पर्ने डा. थापाको भनाइ छ ।

यसअघि भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १५ लाख बजेट विनियोजन गरिएको छ ।