इच्छाकामना : चितवनको इच्छाकामनामा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । इच्छाकामना युथ स्पोर्टस् क्लब मुग्लिनको आयोजनामा चितवनमा हालसम्मकै ठूलो राशी पुरस्कार भएको जिल्ला स्तरीय दोश्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारीले वडा नम्बर ५ को कार्यालय मुग्लिनको सभाहलमा एक कार्यक्रमकाबिच समुद्घाटन गर्नुभएको हो । क्लबका अध्यक्ष प्रकाश त्रिपाठीको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारीको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष तेज बहादुर शेरचन, नेपाल बुद्धिचाल (चेस) संघका महासचिव धरम बहादुर लामा,केन्द्रिय सदस्य रामकिशोर परागको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सामारोह कार्यक्रममा बुद्धिचाल संघ चितवनका अध्यक्ष तथा गोल्ड मेडालिष्ट एसियन एमेच्युर चेस च्याम्पियनसीप २०१९ का च्याम्पियन कृष्ण थापाको विशेष आतिथ्यता रहनुभएको थियो ।

प्रतियोगितामा जिल्लाका ३७ जना खेलाडीहरु सहभागी छन् । प्रतियोगितामा सबै भन्दा सानो उमेरको ७ बर्ष र सबै भन्दा बढी ५० बर्ष उमेर सम्मका खेलाडीहरु सहभागी छन् । सबै भन्दा कम उमेर मुग्लिनका ७ बर्षिय अथक त्रिपाठीले सहभागि जनाउनुभएको हो ।
प्रतियोगितामा सीमान्तकृत चेपाङ समुदायबाट पनि दुई जना खेलाडी सभागि छन् ।
स्वीस लिग अन्तरगत चलिरहेको यो प्रतियोगितामा पहिलो दिन आज ३ राउण्ड खेल सम्पन्न भएको छ । भोली दोश्रो अन्तिम दिन ३ राउण्डको खेल हुने क्लबका अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
बाँकी खेल भोली इच्छाकामना ४ कुरिनटार स्थित लोकप्रिया होटलमा सम्पन्न हुने छ। खेल विहान ९ बजेदेखी सुरु हुने छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न हुने छ ।
प्रतियोगिताको पहिलो पुरस्कार १३ हजार, दोस्रो ९ हजार, तेस्रो ५ हजार, चौथो–पाचौं र छैठौंलाई हुनेले दुई–दुई हजार रुपैयाँ जित्ने छन् । यो राशी जिल्लामा हालसम्म भएका बुद्धिचाल प्रतियोगिताको सबैभन्दा ठुलो राशीको पुरस्कार हो।
यस्तै पहिलो हुने महिला खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिने छ । पहिलो हुने छात्रा र छात्र विद्यार्थीलाई पनि नगद दुई–दुई हजार पुरस्कार रहेको छ । इच्छाकामना कै पहिलो हुनेको लागि पनि दुई हजार पुरस्कार रहेको छ ।

इच्छाखबर संवाददाता












