चितवन  : सडक डिभिजन कार्यालयले शनिबार दोस्रो दिन पनि नारायणगढस्थित सडकको भाग अतिक्रम गरेर निर्माण गरिएका संरचना भत्काएको छ । स्थानीय व्यवसायी, घरधनी र उद्योग वाणिज्य संघ चितवनले विरोध गरे पनि संरचना भत्काउने कामलाई निरन्तरता दिइएको हो । राजमार्गअन्तर्गत पर्ने पुलचोकदेखि लायन्सचोकसम्म पर्ने दायाँ बायाँका सडक अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरु भत्काइने सडक डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजन सडकले सूचना दिएर घरधनीलाई आफै भत्काउन सचेत गराए पनि सूचनाको अवज्ञा गरिएपछि डोजर प्रयोग गरेरे बजारका भवनहरु भत्काउन थालिएको हो । डिभिजन कार्यालयले धमाधम अवैध संरचना भत्काउन थालेपछि भरतपुरको हाकिमचोकका प्रायजसो घरधनीले अतिक्रमित क्षेत्रका घरहरु आफै भत्काउन थालेका छन् । शनिबार बिहानैदेखि हाकिमचोकका धेरै घरहरु आफै भत्काउन थालेका हुन् । डोजरको प्रयागले क्षति धेरै हुने भएको कारणले घरधनी आफैले भत्काउन थालेको बताएका छन् ।