चितवन : राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आउनुभएको थियो ।
दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनि सक्नुभएका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजीरहनुभएको छ । राज्यमन्त्री श्रेष्ठलाई चितवनको क्षेत्र नम्बर २ बाट चुनाव लड्न काँग्रेसी नेता तथा कार्यकर्ताले सुझाव दिएका थिए ।
क्षेत्रीय समितिमा आवेदन दर्ता गरिसकेपछि राज्यमन्त्री श्रेष्ठले चितवनलाई समृद्ध बनाउन आफू हरतरहले लाग्ने प्रतिबद्धता जनाउनुभये । उहाँले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास गरेर चितवनलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ जितनारायण श्रेष्ठ, राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकार, राजेश्वर खनाल र उमा रेग्मीले पनि आवेदन दर्ता गराएका छन् । समानुपातिकतर्फ शालिग्राम शर्मा, गौरीकुमारी श्रेष्ठ, शान्ति परियार र केशवराज कँडेलले आवेदन दर्ता गराएका छन् ।
इच्छाखबर संवाददाता












