कुरिनटार, १७ साउन । अविरल बर्षासगैँ विभिन्न स्थानमा खसेको पहिरोले नारायणगढ –मुग्लिन सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ केराबारी , १७ किलो र इच्छाकमना ५ स्थित २ नम्बर पुल र ३ नम्बर पुलमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । ठूलो पहिरो खसेका कारण पहिरो पञ्चाउन समय लाग्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।
अहिले पहिरो पञ्छाउने कार्य भइरहको उहाँले बताउनुभयो ।
यसैबिच पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । अविरल बर्षासगैँ गएरातीदेखि विभिन्न स्थानमा खसेको पहिरो कारण अवरुद्ध बनेको राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । सडक डिभिजन फिस्लिङका सुपर भाइजर हरि घिमिरेका अनुसार पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ १० स्थित जोगिमारामा पहिरो सगैँ ठूलो ढुंगा खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए । अहिले एकतर्फी सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
यसैबिच पृथ्वीराजमार्ग अन्तरगत नै चितवनको इच्छाकामना ४ घोप्टेभीर, केबलकार, वडा नम्बर ३ को डहकीखोला, लगायतका विभिन्न स्थानमा खसेको पहिरो हटाई दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।