मुग्लिन,१४ साउन । । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् इच्छाकामना इकाइ समितिको अध्यक्षमा सन्तबहादुर गुरूङ चयन भएका छन् । शनिबार मुग्लिनमा सम्पन्न दोस्रो अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चुनिएका हुन् । इकाइ समितिको वरिष्ठ उपाध्यक्षमा झलक गुरूङ, उपाध्यक्षमा कुमार गुरूङ, सचिवमा विन्दु गुरूङ, संगठन सचिवमा उदयकुमार गुरूङ, प्रचार सचिवमा सरगम गुरूङ र कोषाध्यक्षमा धनबहादुर गुरूङ चयन भएका छन् ।
यस्तै सदस्यहरूमा भने सन्तोष गुरूङ, लोकमाया गुरूङ, लीला गुरूङ, निरमाया गुरूङ, शान्ति गुरूङ, लालमाया गुरूङ, धनकुमारी गुरूङ र विनोद गुरूङ चयन भएका छन् । चितवनमा पछिल्लो समय ह्युल छोँज धीँमार्फत जिल्लामा रहेका गुरूङहरू संगठित हुन थालेका छन् । आफ्नो जातीय पहिचानसहितको मुद्धा र सवालहरूलाई मजबुद बनाउनमा संगठनको भूमिका मह¤वपूर्ण हुने अधिवेशनपूर्व भएको कार्यक्रममा ह्युल छोँज धीँका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङले बताए ।
गुरूङ समुदायले आयोजना गर्ने हरेक कृयाकलापमा पनि संगठित भइसकेपछिको भूमिका फरक र सहज हुने उनले बताए । ह्युल छोँज धीँ इच्छाकामना इकाइका तत्कालीन अध्यक्ष रामबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ह्युल छोँज धीँका केन्द्रीय सचिव सचिव सन्तलाल गुरूङ, जिल्ला उपाध्यक्ष विमला गुरूङ, तमुस्यो ह्युल छोँज धीँ चितवनकी अध्यक्ष शकुन्तला गुरूङ, ह्युल छोँज धीँका केन्द्रीय सल्लाहकार शारदा गुरूङ, नेपाल तमू विद्यार्थी छोंज धीँ, बागमती प्रदेशका संयोजक पवन गुरूङ, चितवन जिल्ला अध्यक्ष सुमित गुरूङ, तमू सञ्चारकर्मी संघ नेपालका केन्द्रीय सचिव चित्रबहादुर गुरूङ, जिल्ला उपाध्यक्ष हीरालाल गुरूङ लगायतको उपस्थिति थियो ।