कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु भएको छ । संघिय सांसद कृष्णभक्त पोखरेलको प्रमुख अतिथ्यता तथा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको विशिष्ट आतिथ्यतामा वडा नम्बर ७ भालुमाराबाट शुक्रबारदेखि नक्साङ्कन कार्य शुुभारम्भ गरिएको हो ।


राष्ट्रिय भूमि आयोग संगको समन्वय र सहकार्यमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि जग्गा नाप नक्साङ्कन शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ,उपाध्यक्ष माया सिलवाल,वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु,राजनितिक दलका प्रतिनिधि ,नापी कार्यालयका प्रतिनिधि, आयोगका विज्ञ सदस्य,गाउँपालिकाका भूमि सम्बन्धी सेवा केन्द्रका संयोजक हरि देवकोटा अमिन, सर्वेक्षक लगायतको उपस्थिति रहेका थिए ।


भूमि सम्बन्धी सेवा केन्द्र इच्छाकामनाका संयोजक हरि देवकोटाका अनुसार इच्छाकामना गाउँपालिकामा ३ हजार ५३९ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुहरुले निवेदन दिएका छन् । जस मध्ये वडा नम्बर ७ मा सबै भन्दा बढी १ हजार ६२७ जनाले निवेदन दिएका छन् ।
उहाँका अनुसार सम्म वडा नम्बर ७, ६ र ३ मा निस्सा वितरण कार्य गरिएको छ ।