कुरिनटार :  इच्छाकामनामा बलेरोले जीपलाई ठक्कर दिदाँ ६ जना  घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ रमाइलो डाँडामा आज साँझ ७ :  ४० बजे बलेरो जीपले म्याजिकलाई ठक्कर दिँदा चालकसहित छ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट फिस्लिङतर्फ जाँदै गरेको ना१ ज ८३८२ नम्बरको म्याजिकलाई फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ग३च ७३८१ नम्बरको बोलरो जीपले ठक्कर दिँदा म्याजिकमा सवार धादिङ बेनिघाट गाउँपालिका वडा नं ९ रोलाङका ५५ वर्षीया गोमादेवी श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनको आँखा, गाला, मुख र दाहिने कोखामा भित्रि चोट लागेको छ । यस्तै, सोही ठाउँ निवासी २५ वर्षीय शोभा श्रेष्ठको बाँया हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम छ ।

यस्तै, जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं ४ दोवाबेसीका ३७ वर्षीय मनकुमार बिकको दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ भने इच्छाकामना वडा नं ४ सिमलढापकी २७ वर्षीया कुमारी तामाङको वाया खुट्टा र हातमा चोट लागेको छ । निजकी ५ वर्षीया कञ्चन तामाङको टाउकोमा चोट लागेको छ ।

यसैगरी, म्याजिक चालक जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ४ का राजकुमार कामी सामान्य घाइते भएका छन् । यस्तै, बोलेरो चालक जिल्ला चितवन इच्छाकामना गाउँपालिका वडा नं ५ का ४१ वर्षीय दुर्गा गुरुङको टाउकोमा सामान्य चोट लागेको छ ।

घाइतेहरुको स्थानीय जनसेवा मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारको लागि भरतपुरतर्फ पठाइएको छ ।
प्रहरीले दुवै सवारी साधन र बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।