चितवन  :  आज स्थानीय तहहरुले आगामी वर्षको बजेट आ–आफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन्।

अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसार स्थानीय तहले आ–आफ्नो सभामा बजेट पेस गर्ने भएका हुन्।

कतिपय स्थानीय तहले भने यसअघि नै आ–आफ्नो सभामा बजेट पेस गरिसकेका छन्। सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते सङ्घ र प्रदेशको व्यवस्थापिकामा बजेट पेस गरिसकेका छन्।

स्थानीय तहले सङ्घ तथा प्रदेश सरकारले दिएको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानी आ–आफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्ने अन्तिम तयारी गरेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन्।

स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।