जिल्ला समन्वय समिति चितवनको उपप्रमुखमा सत्तारुढ ५ दलीय गठबन्धनकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन् । यो पदमा उनको मात्रै उमेदवारी परेपछि निर्विरोध भएकी हुन । सापकोटा नेकपा एकीकृत समाजवादीकी नेतृ हुन ।
जिससको उपप्रमुख बाहेक प्रमुखसहितका पदमा १५ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र नेकपा एमालेबाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार तीन जना खुला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका संजीव पौडेल, नेकपा माओवादी केन्द्रका धर्मलाल देवकोटा र अर्जुन भण्डारीको उम्मेद्वारी परेको छ । यस्तै एमालेबाट बाबुराम सुवेदी, कृष्णभक्त भट्टराई र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ ।
यस्तै ३ जना महिला सदस्यका लागि गठबन्धनबाट समाजबादीकी पूजना गुरुङ, कांग्रेसकी अनिता चौधरी र माओवादी केन्द्रकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ । एमालेबाट सविता चौधरी र अनिता नेपालको उम्मेद्वारी परेको छ ।
दलित वा अल्पसंख्यक सदस्य एक जनाका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन् । निर्वाचन तालिका अनुसार सोमबार विहान १० बजेदेखि ११ बजे भित्रमा उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । भोलि नै उम्मेदवारहरुको बिषयमा उजुरी दिन पाइने छ । यस्तै मनोनयनपत्र जाँच र उजुरी उपर निर्णय गर्ने कार्यतालिका छ ।
जिल्लाको ७ पालिकाका प्रमुख र उपप्रमुखले मतदानमा भाग लिनेछन् । कूल १४ मतदातामा गठबन्धन र एमालेको समान ७ भोट छ । मतगणनामा सबै उम्मेदवारको मत बराबर भएमा गोलाप्रथाबाट निर्णय लिईनेछ ।