
धादिङ : गल्छी गाउँपालिका–७, भल्टारमा जीप र ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जीपचालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा गल्छीस्थित अम्बेभरोसा अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरीचौकी गल्छीले जनाएको छ ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना५च २६८३ नम्बरको जीप ओभरटेक गरेर अगाडि जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना७ख ९७७७ नम्बरको ट्रकसँग ठोक्किएको थियो । आज बिहान करिब पौने ३ बजे भएको उक्त दुर्घटनालगत्तै सम्पर्कविहीन भएका ट्रक चालकको खोजी भइरहेको जनाइएको छ ।