
इच्छाकामना : नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेलले सत्ता भन्दा पनि संविधान र व्यवस्था बचाउन पाँच दलिय गठबन्धन बनेको दाबी गर्नुभएको छ । चितवनको इच्छाकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरको दर्शन गर्न इच्छाकामना आउनुभएका नेता पौडेलले यस्तो बताउनुभएको हो ।
नेता पौडेलले भन्नुभयो,“नेपालमा लोकतन्त्रको जगलाई बलियो बनाउनुछ,नेपालमा राजनिति स्थिरता ल्याउनु छ,नेपालमा सुशान ल्याउनुछ , नेपालमा विकासलाई अगाडी बढाउनुपर्नेछ र सामाजिक न्याय कायम गर्नुछ , यो सिद्धान्त र उदेश्यमुलक हो यो गठबन्धन हो , यो गठबन्धन अवसरवादको सत्ताको लागि होइन, सत्ता भन्दा पनि व्यवस्था बचाउनका लागि हो , हामी गठबन्धनको माध्यमबाट यो परिवर्तित व्यवस्थालाई बचाउन चाहन्छौँ, नेपाललाई प्रगतीको बाटोमा अगाडी बढाउन चाहन्छौँ ,नेपालमा सुरक्षाको प्रश्न छ , विकासको प्रश्न छ, नेपालमा लोकतन्त्र रक्षाको प्रश्न पनि छ, यो प्रश्नमा हामी एकै ठाउँमा छौँ त्यसैको निमित्त यो गठबन्धन हो । ”
गणतन्त्र लोकतन्त्र र समावेशिता पाँच दलको साझा मुद्धा भएकाले यसको रक्षाका लागि गठबन्धन बनेको उहाँकोे भनाई छ । पटक पटक संसद भंग गरिदिने संविधान भत्काइ दिने र संविधानलाई नै अलग अलग पारिदिने प्रपञ्च सुरु भएकाले संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरुबिच एक हुनुपर्ने अवस्था आएको उहाँको तर्क छ ।
साथै उहाँले इच्छाकामना मन्दिर पुर्ननिर्माणका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेता पौडेल इच्छाकामना गाउँपालिकाकी निर्वतमान अध्यक्ष तथा हाल अध्यक्षका उम्मेद्वार कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ लगायत स्थानिय नेता तथा कार्यकताहरुसगैँ इच्छाकामना मन्दिर दर्शन गर्न इच्छाकामना पुग्नुभएको थियो ।
।
इच्छाकामना मन्दिर दर्शनसंगै उहाँले कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नुभएको नेपाली कांग्रेस इच्छाकामनाले जनाएको छ । उहाँले गठबन्धनका उम्मेद्वारलाई जिताउनका लागि एक मत भएर लाग्न इच्छाकामनाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।