कुरिनटार – चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा ५ जनाले अध्यक्षमा र २ जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

इच्छाकामनामा कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको सत्ता गठवन्धनबाट कांग्रेसकी गीता गुरूङले अध्यक्षमा र माओवादी केन्द्रका प्रताप गुरूङले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

गीता गुरूङ यसअघि भएको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा कांग्रेसबाट विजयी भएकी थिइन् । एमालेबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरूङ र उपाध्यक्षमा माया सिलवालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

एमालेले सबै वडाका वडाध्यक्ष एव‌ं सदस्य उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इच्छाकामनामा कांग्रेसलाई अध्यक्षसहित ४ वटा वडा र माओबादी केन्द्रलाई उपाध्यक्षसहित ३ वटा वडा दिने गरी भागवण्डा गरिएको छ ।

जस अनुसार काग्रेसले अध्यक्षसहित ४, ५, ६ र ७ नम्बर वडाको अध्यक्षका लागि उमेदवारी दिनेछ । त्यस्तै माओवादी केन्द्रले उपाध्यक्षसहित १, २ र ३ नम्बर वडाको अध्यक्षमा उमेदवारी दिने सहमति छ ।