जुम्ला :  आगलागीमा परि चार बालबालिको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिकामा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको हो।

तिला गाउँपालिका ३ सार्कीवाडास्थित मानसिं सार्कीको घरमा आगलागी हुँदा उनका दुई छोरी, छोरा र भान्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेहरुमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तुलसा सार्की रहेका
छन् ।

आगलागीको खबर पाएसँगै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँ, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द घटनास्थल पुगेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मानसिं, श्रीमती फागुनी सार्की र बहिनी रुन्चकली सार्की समेत बेहोस भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरूको उपचार भइरहेको छ।

आगलागीको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।