सिमलढाप : चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा पनि सुकुम्वासीहरुलाई लाल पुर्जा वितरणको प्रकृयाका लागि निस्सा वितरण सुरु गरिएको छ । सोमबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका बिज्ञ सदस्य निर प्रसाद लामिछानेको प्रमुख आतिथ्य, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडीको विशिष्ट आतिथ्यता तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा एक कार्यक्रमकाबिच निस्सा वितरण गरिएको हो ।
निस्सा वितरण कार्यक्रममा मन्तव्य राख्दै आयोगका बिज्ञ सदस्य निर प्रसाद लामीछाने र सदस्य लक्षमीकान्त दुवाडीले नापी कार्यालयसंग समन्वय गरि जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने बताउनुभएको थियो ।
विज्ञ सदस्य लामीछानेले भन्नुभयो, “लाल पुर्जा पाउनेमा तपाइहरु ढुक्क हुनुहोस्,विश्वस्त रहनुहोस् नापी कार्यालयसंग समन्वय गरि जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने छौँ ।” सो कार्यक्रमका माझ २० जनालाई निस्सा वितरण गरिएको छ ।
निस्सा पाएपछि स्थानीयहरुले खुशी व्यक्त गरेको थियो । निस्सा पाएपछि चाडैँ लाल पुर्जा पाउने आशा व्यक्त गर्दै भूमि आयोगका सदस्य, जनप्रतिनिधि कर्मचारीहरुलाई धन्यावाद दिएको थियो ।
निस्सा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्ष बम बहादुर थापा (विजय) र राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिका कार्यालयका सेवा केन्द्रका प्रमुख हरि देवकोटाका अनुसार इच्छाकामनामा ३ हजार ३८९ भूमिहिन दलित, भूमिहिन सुकुम्वासीले निवेदन दिएका छन् । वडा नम्बर ७ मा सबै भन्दा बढी १ हजार ५१० रहेका छन् । वडा नम्बर ७ बाट प्राप्त निवेदन आयोगको अनलाइन प्रणालीमा प्रबिष्ट गर्ने कार्य सम्पन्न भएसगैँ निस्सा वितरण सुरु गरिएको प्रमुख देवकोटाको भनाई छ ।
अन्य वडाको पनि भूमिआयोगको अनलाइन प्रणालीमा निवेदन प्रबिष्ट गर्ने कार्य भइरहेकोले चाडैँ निस्सा वितरण गरिने प्रमुख देवकोटाले बताउनुभयो ।
राष्ट्रिय भूमि आयोग ताहाचल काठमाण्डौ र इच्छाकामना गाउँपालिकाबीच कार्य सहमति पत्रमा हस्ताक्षर गरि सकेपछि बिगतमा निवेदन फाराम भर्न छुट भएका भूमिहीन दलित भूमिहिन सुकुम्वासीलाई निवेदन फाराम भर्नको लागि २०७८ फागुन २६ गते गते राष्ट्रिय भूमि आयोगबाट ३५ दिने सूचना प्रकाशित भैसकेको र सो को लागि निवेदन फारामहरू सबै वडा कार्यालमा उपलब्ध गराइएको गराइएको प्रमुख देवकोटाको भनाई छ ।