कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले बाल विवाह र बहुविवाह न्यूनिकरणका लागि सचेतना अभियान सञ्चालन गरेका छन् ।
गाउँपालिकाले नेपाल चेपाङ संघको समन्वयमा चेपाङ समुदायमा हुने बालविवाह र बहुविवाह न्यूनिकरणका लागि उक्त समुदायहरुमा सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् ।
सानै उमेरमा विवाह गरि आमा बन्ने र बहुबिबाह गर्ने समस्या रहेकाले बालबालिका र उनका अभिभावकहरुलाई भेला गरि सचेतना कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । उहाँले चेपाङ समुदायमा जनचेतना फैलाउनका साथै आयआर्जनका लागि विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गरिएको बताउनुभयो ।

वडा सदस्य अञ्जु चेपाङले चेपाङ सुमदायमा अशिक्षा र जनचेतनाको कमिका कारण बाल विवाह र बालविवाह हुने गरेको बताउनुभयो ।
नेपाल चेपाङ संघ इच्छाकामनाका कार्यकारिणी अध्यक्ष विकास चेपाङले जनचेतनाको कमी कारण नै बालविवाह र बहुविवाहको समस्या रहेको बताउदैँ यसको न्यूनिकरणका लागि गाउँपालिकाले सचेतना कार्यक्रममा सहयोग गरेकोमा धन्यावाद दिनुभयो ।

अधिवक्ता सुरजा पौडेलले चेपाङ समुदायमा जनचेतनाको कमीका कारण बालविवाह र बहुविवाह हुने गरेको बताउनुभयो । अधिवक्ता पौडेलले बालविवाह तथा बाहुविवाह गर्दा हुने कानुनी कारबाहीका बारेमा जानकारी गराउनु भएको थियो । सहमतिमा २० वर्ष मुनि विवाह भए पनि कानुन विपरीत रहेको बताउनुभयो । सबैले शिक्षा हासिल गरी २० वर्षपछि परिपक्क भएर मात्र विवाह गर्नुपर्ने बताउनुभयो ।
बहुविवाह गर्ने पुरुष वा महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था रहेको छ ।