कुरिनटार : चितवनमा बस दुर्घटना हुदाँ ३८ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबाहक बस बिहान करिब ९ः२० बजेतिरको समयमा अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सम्पर्कमा आएका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरहरि अधिकरीले दिनुभयो । उनीहरूको अवस्था सामान्य छ । बस चालकसहित ६ जनाको चितवनको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर छ भने चालकको अवस्था मध्यम छ ।
पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको छ । पाँचमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको बुझिएको उहाँले बताउनुभयो । सडकमै बस पल्टिएपछि राजमार्ग अवरुद्ध बनेका थिए । बसलाई क्रेनको सहायताले हटाएर सडक खुला गरिएको उहाँले जानकारी दिनुभयो