काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्‌बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० अनुमोदन गर्ने विषयमा आफ्नो पार्टी अडिग रहेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले एमसीसीबारे कम्युनिस्ट दलहरुले बोली फेरेको भन्दै कांग्रेसले आफ्नो बोली नफेर्ने बताए ।

एमसीसी पास गर्ने वर्षौँअघिको निर्णयमा कांग्रेस अडिग रहेको उनको भनाइ थियो ।

“एमसीसीबारे कसले के बोल्यो, त्यसमा हाम्रो ध्यान छैन । कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन मिल्दैन, हुँदैन । कांग्रेसले क्षणिक लाभका लागि बोली फेर्न जान्दैन,” उनले भने ।

यसक्रममा उनले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग्य पनि गरेका छन् ।

“हामी बालुवाटारमा हुँदा एउटा बोली, अनि बालकोट र खुमलटार पुगेपछि अर्को बोली बोल्दैनौँ, बोल्न जान्दैनौँ,” उनले भने ।

यस्तै, उनले कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए ।