– केही दिन यता इन्टरनेट सुस्त भएको धेरै उपभोक्ताको गुनासो छ । देशभरका सबै ईन्टरनेट पहिलेको भन्दा स्लो भएको कारण सबै सेवा प्रदायकले उपभोक्ताको गुनासो खेप्न परिरहेको छ। अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने केबलमा समस्या देखिएका कारण नेपालमा पनि इन्टरनेट सेवा प्रभावित भएको सेवा प्रदायकहरुले जनाएका छन् ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विज्ञप्ति जारी गर्दे विश्वभर इन्टरनेट सेवा प्रवाहको लागि समुद्रमुनी बिछ्याइएको तारमा समस्या आएकाले सेवा प्रभावित भएको प्रष्टिकरण दिएको छ । जस्को कारण नेपालमा सर्भर नभएका साइट हरुमा भारी समस्या देखिएको छ।

मुम्बई–खाडी मार्गको सबमरिन (समुद्रमुनी बिछ्याइएको तार) मा समस्या देखिएको सेवा प्रदायकले जनाएका छन् । नेपालमा इन्टरनेट भित्र्याउने अपस्ट्रिम प्रोभाइडर टाटा, एयरटेलजस्ता सेवा प्रदायकले समुद्रमुनी बिछ्याएको तारमा समस्या देखिएपछि वैकल्पिक मार्ग उपयोग गरिएको विज्ञप्तिमा जनाइएको छ ।

वैकल्पिक मार्ग प्रयोग गर्दा इन्टरनेट सेवामा लेटेन्सी (हामीले खोजेको सामग्री सर्भरबाट आइपुग्न लाग्ने समय) बढ्ने र प्याकेट ड्रप (हामीले खोजेको समग्री नआइपुग्ने) हुने समस्या देखिएको जस्को कारण अन्तर्राष्ट्रिय ब्याण्विथ उपयोग हुने अन्लाईन क्लास,गेम लगायतको सेवामा भारी समस्या आएको सेवा प्रदायकले जनाएका छन् ।

समुद्रमुनी बिग्रिएको तार मर्मतको लागि अनुमति लिने, मौसमजस्ता कारणले केही साता मर्मतको लागि लाग्नसक्ने सेवा प्रदायकले जनाएका छन् ।