आशिक राना,
देवघाट,२ माघ । योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल देवघाटको अयोजनामा पवित्र धार्मिक स्थल देवघाटधाम र वरपर बृहत सरसफाई गरिएकोे छ । आइतबार तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने नेपालकै एक पवित्र धाम देवघाटको पुरानो झोलुङ्गे पुलको मुख देखी हरिहर मार्ग,गलेश्वर मार्ग हुँदै बेनी संगम र नदीको किनार वरिपरि बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

सो सरसफाई कार्यक्रममा देवघाट गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष भुवनसिङ्ग गुरुङले नेपालकै एक पर्यटकीय नगरी भित्र रहेको देवघाटधाममा यहीँ माघ १ गते मकर संक्रान्ति पर्वमा आउने केहि भक्तजनहरुले प्रयोग गरिएको पुजाको सामाग्रीहरु तथा प्लास्टिकहरुले वरिपरि फोहोर देखिएकोले सरसफाई कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘पवित्र धार्मि स्थल देवघाटधाम र वरपरको वातावरण सफा राख्ने जगेर्ना गर्ने काम हामी सबैको हो , त्यसैले यहाँ मकर संक्रान्तिको बेला मेलामा आउने भक्तजनहरुले फालेका प्लाष्टिक तथा पुजाका सामाग्रीहरु हटाई सरसफाई गर्ने कार्यक्रमलाई अगाडी बढाएका हौँ’। साथै देवघाटधामको सुन्दर महिमालाई संरक्षण गर्न कर्तव्य हामी सबैको रहेको समेत उहाँले बताउनुभयो।

कार्यक्रममा देवघाट योङ्ग कम्युनिष्ट लिग(वाइसियल)नेपालका इन्चार्ज एवम् ५ नम्बर वडा कमिटीका अध्यक्ष दुर्गलाल गुरुङ,अखिल नेपाल महिला संघ क्रान्तिकारी देवघाटका इन्चार्ज माया शर्मा,देवघाट योङ्ग कम्युनिस्ट लिग(वाइसियल)नेपालका सचिव उमेश आले,देवघाट नेकपा माओवादी केन्द्र ५ नम्बर वडा कमिटीका सचिव दिलमाया सापकोटा लगायतको उपस्थिति रहेको थियो।