चितवन : जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको विरोधमा किराना व्यवसायीहरु आन्दोलित बनेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनको नाममा आफूखुसी व्यवसायीमाथि अधिकतम तीन लाखसम्म जरिवाना लगाएको भन्दै माघ २ र ३ गते चितवनका सम्पूर्ण किराना व्यवसाय बन्द गर्ने निर्णय गरेका संघका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
संघले शनिबार विज्ञप्ति जारी गरी प्रशासन कार्यालयका प्रतिनिधिले अनुगमनको क्रममा व्यवसायीमाथि धम्कीपूर्ण भाषा प्रयोग गर्दै तत्कालको तत्कालै जरिवाना तिर्न आदेश दिने, जरिवाना नतिरे प्रहरी लगाएर थुनाउँछु भन्नेजस्ता अभिव्यक्ति दिने कार्य ज्यादै निन्दनीय भएको बताइएको छ ।
अध्यक्ष श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा अनुगमनमा उद्योग वाणिज्य संघ तथा किराना व्यवसायी संघका प्रतिनिधिहरु राख्न माग गरिएको छ ।