कुनिटार : चितवनको इच्छाकामनामा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन सुरु गरिएको छ । गाउँपालिकाको आयोजनामा कक्षा सञ्चालन सुरु गरिएको हो ।
यस गाउँपालिकाभित्र बसोबास गर्ने शिक्षक सेवा आयोगको आधारभूत तहमा (प्राथमिक र निम्न माध्यमिक) प्रतिष्पर्धा गर्ने उम्मेद्वारहरुका लागि उक्त तहको प्रथम पत्रको तयारी कक्षाको सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले शिक्षक सेवा आयोग तयारी कक्षा तथा अभिमुखिकरण तालिमको एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो ।
यस गाउँपालिकाभित्रका इच्छुक व्यक्तिहरुलाई सरकारी सेवामा पहुँच बढाउनका लागि र विद्यालयहरुमा शिक्षकको स्थायित्व कायम गराई पठनपाठनलाई प्रभावकारी बनाउन गाउँपालिकाले शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले स्थानीय जनशक्तिलाई उपयोग गरि स्थानीय स्तरमा सरकारी सेवा प्रवेश गर्ने इच्छुकहरुलाई यस कार्यक्रमले सहयोग मिल्ने विश्वास सहित सफलताको शुभकामना दिनुभयो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले उक्त कार्यक्रममा शिक्षक सेवा आयोग तयारी कक्षाको उदेश्यबारे प्रष्ट्याउनुभएको थियो ।
हरेक दिन विहान र बेलुका दुई वटा कक्षा सञ्चालन हुने प्रशिक्षक तथा सर्वशान्ति मावि कुरिनटारका अंग्रेजी शिक्षक अर्जुन बहादुर खत्रीले जानकारी दिनुभयो ।
सीताराम कोईराला, रुद्र पौडेल,दुर्गादेवी खड्का, पुष्पराज दुवाडी, भविश्वर गुरुङ, अर्जुन बहादुर खत्री, राजेन्द्र शिंखडा, इन्दिरा सापकोटा र डिबी गुरुङ प्रशिक्षक रहने छन् ।
उक्त तयारी कक्षामा करिब १०० जना सहभागीहरु लाभान्वित हुनेछन् । बिहिबार उद्घाटन गरिएको कक्षा माघ २ गतेदेखी फागुन २३ गते सम्म अनलाई कक्षा सञ्चालन हुनेछ ।