
गोरखा : चितवनको फिस्लिङबाट गोरखाको भुम्लिचोक जोड्ने पक्की पुलमा गाडी चलाउन नदिन ठेकेदारले चौकीदार राखेको छ । चार महिनाअघि निर्माणसम्पन्न पुलमा गाडी गुडाउन नदिन ठेकेदारले चौकीदार राखेको छ ।
पुलमा गाडी गुडाउन नदिन गण्डकी गाउँपालिका ६ का तुलबहादुर थापालाई चौकीदार खटाएको हो । ‘यहाँबाट गाडी चल्न नदिनू भन्ने आदेश छ’, चौकीदार थापाले भने, ‘म निदाएको बेला लगे भने मात्रै, नत्र बिहानदेखि चौबीसैघण्टा म खटेको हुन्छु । गाडी लैजान दिन्न ।’ रातको समयमा आफू निदाएका बेला एउटा ट्याक्टरबाहेक अहिलेसम्म कुनै पनि सवारी साधन तार्न नदिएको उनले बताए ।
सो पुलको गत असोजमा नै सपना कन्स्ट्रक्शनले निर्माण सकिसकेको छ ।
पुलको रेखदेख गरेबापत पाउनु पर्ने चार महिनाको पारिश्रमिक नपाएको चौकीदार थापाको गुनासो छ । ‘काम गरेको चार बर्ष भयो । पन्द्रहजार रुपैयाँका दरले तलब दिन्छु भनेको थियो । अहिलेसम्म दुईलाख रुपैयाँजति लिनुछ’, उनले भने, ‘दशैँमा ४० हजार रुपैयाँ दिएको थियो, त्यसपछि कत्ति पनि पैसा दिएको छैन ।’
पृथ्वीराजमार्गको फिस्लिङ र गण्डकी गाउँपालिका ६ भुम्लिचोक जोड्ने त्रिशुली नदीमाथिको पक्की पुल निर्माण सम्पन्न भएको चार महिना बित्यो, तर अहिलेसम्म सञ्चालनमा आएको छैन । पक्की पुल सञ्चालनमा नआएपछि गोरखातर्फ गाडी तार्न ३० किलोमिटर पर रहेको बेनिघाट पुग्नु पर्ने भएको छ । पैदल यात्रुहरु भने संगै रहेको झोलुंगेपुलको बाटो हिड्नु परेको छ ।
गत असोजमा पुल निर्माण सम्पन्न भएको हो तर ठेकेदार कम्पनी सपना कन्स्ट्रक्शनले पुलको मुखमा बाँसका तगरा तेस्र्याएर राखेको छ । कोही अटेरी गरी सो पुलबाट हिँडेमा रोक्न चौकीदारसमेत राखेको छ । ‘यहाँबाट गाडी तार्न नदिनू भनेर मलाई रेखदेख गर्ने जिम्मा लगाएको छ’, चौकीदार तुलबहादुर थापा भन्छन्, ‘राती म निदाएका बेला हिँडाए भने त थाहा हुँदैन तर अरुबेला मैले थाहा पाएसम्म यहाँबाट गाडी वारपार गर्न दिएको छैन ।’
सो पुल गत असोजमा निर्माण सम्पन्न भएको हो । ‘दशैंअघि नै ढलान भइसकेको हो तर अहिलेसम्म चालु गरिएको छैन,’ पुलजीपका बिमल श्रेष्ठले भने, ‘मान्छेहरु पक्की पुल हेर्दै झोलुंगेपुल तर्छन्, कोही जोखिम मलेर झोलुंगेपुलबाट बाइक तार्छन् ।’
पक्की पुल खुल्ला नहुँदा भरियाले फिस्लिङबाट दैनिक उपभोग्य सामग्री बोकेर तार्ने गरेका छन् । ‘पारि पुलजीपसम्म पनि गाडी आउँछ, वारि पुलजीपसम्म पनि गाडी आउँछ तर पुल चालु नहुँदा भरियाले बोकेर झोलुंगेपुलबाट तार्नुपर्छ । यत्तिले गर्दा उपभोक्तालाई प्रतिकिलो दुईरुपैयाँ थप ढुवानी भाडाको भार लागेको छ ।’
गण्डकी गाउँपालिकाका किसानले उत्पादन गरेर काठमाडौँ कालिमाटी लैजाने तरकारी पनि डोकोमा बोकेर तार्नुपर्ने बाध्यता छ । ‘सिजनमा यहाँ दैनिक २० गाडी तरकारी आउँछ’, अर्का स्थानीय बलराम सुनार भन्छन्, ‘तर सबै तरकारी मान्छेले बोकेर तार्नुपर्ने बाध्यता छ । यो पुल खुलाइदिएको भए तरकारी ढुवानी गर्न पनि सजिलो हुन्थ्यो । सर्वसाधारण किसानलाई दुई रुपैयाँ भनेपनि सुपथ हुन्थ्यो ।’ ठेकेदारले अझै खुलाएन भने स्थानीयबासी स्वयंले खुलाउने उनले बताए ।
सर्वसाधारणलाई समस्या हुने गरी निर्माण कम्पनीले किन रोकिरहेको हो भन्ने आफू पनि आश्चर्यमा परेको गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना बताउँछन् । ‘बनिसकेको पुल किन चालु नगरेको हो, म पनि आश्चर्य चकित भएको छु’, अध्यक्ष रानाले भने, ‘ठेकेदारले अझै पनि खुलाएन भने गाउँपालिकाले खुलाइदिन्छ ।’
उक्त पुलबाट गाडी तार्न पाएमा १५ मिनेटमा गण्डकी गाउँपालिकाको केन्द्रसम्म पुग्न सकिन्छ । तर सो पुल नचल्दा सिउरेनीटार, दर्बुङ, दलभञ्ज्याङ हुँदै घण्टौँको बाटो घुमेर कार्यालय आउजाउ गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष रानाको भनाइ छ । पुल नखुल्दा सेवाग्राही, जनप्रतिनिधि, कर्मचारीलाई पालिकाको केन्द्र पुग्न समस्या भएको उनी बताउँछन् ।
निर्माण कम्पनीलाई यसअघि पनि पुल सञ्चालन गरिदिन आग्रह गरेको अध्यक्ष रानाको भनाइ छ । ‘तीन–चार महिना यता काम गर्ने मान्छे नै छैनन्’, उनले भने ।
पुल महाशाखा काठमाण्डौंले त्रिशुली नदीमाथि बिभिन्न चारवटा पुल निर्माणको ठेक्का लगाएको थियो । उक्त ठेक्का सपना जेभीले लिएको हो । फिस्लिङ पुलको लागत करिब १५ करोड रुपैयाँ छ । कम्पनीका प्रतिनिधि हरि ढकालले नदीमा पानीको बहाब बढेकाले कामदार डराएको बताए । ‘पुल तयार भईसक्यो, फर्मा खोल्न बाँकी छ । नदी माथि झुण्डिएर काम गर्नुपर्छ’, उनले भने, ‘केही दिनभित्र काम सुरु गर्ने योजनामा छौं ।’ पुल निर्माण कम्पनीले गण्डकी गाउँपालिका तर्फको पुलजीपमा करिब दुईसय मिटर ग्राबेल गर्ने काम बाँकी छ । आजको दरौँदी दैनिकमा समाचार छ ।