काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीसहित ८८ केन्द्रीय सदस्य चुनिएका छन् । उनीहरुमध्ये रमेश रिजाल र आनन्द ढुंगाना सर्वसम्मत भएका हुन्, बाँकी सबै निर्वाचन जितेर आएका हुन् ।

मुक्ताकुमारी यादव पनि मधेसी महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । तर उनका लागि यो महाधिवेशन विशेष बनेको छ । १२ औं र १३ औं महाधिवेशनमा पराजित उनले १४औं सबभन्दा बढी मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार उनी सर्वाधिक मतसहित निर्वाचित भएकी हुन् । महिला मधेसीतर्फ चार केन्द्रीय सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा थिए । सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा। शेखर कोइराला दुबैको टीममा परेकी यादवले ३९६० मत पाएकी छन् ।

यसअघि खुला ३५ तर्फ केन्द्रीय सदस्यमा निर्वाचित पूर्वमहामन्त्री डा। शशांक कोइरालाले ३८३६ मत ल्याएका थिए । उनको नाम पनि संस्थापन र इतर दुबै समूहमा थियो । कोइरालाले भन्दा यादवले १२४ मत बढी ल्याएकी हुन् ।

महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले ३०२३ मत पाएका थिए ।