धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। ​

बा ४४ प ९८३६ नम्बरको पल्सर मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर एकापसमा ठोक्किँएपछि मोटरसाइकललाई ना ६ ख ७४९ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका(१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि त्यो ठाउँमा एक घण्टा यातायात अवरुद्ध भएको थियो । सडकबाट सवारी साधन हटाएपछि यातायातका साधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ। रासस